६ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने अहिले चितवन प्रहरीको हिरासतमा छन् । पुडासैनीलाई आत्महत्याका लागि बाध्य पारेको भन्दै उनलाई प्रहरीले ९ दिनदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
लामिछानेले हिरासतबाटै पुडासैनीले आत्महत्या गर्नुको रहस्या खोलेका छन् ।

उनले पत्रकार टेकनारायण भट्टराईसँग हिरासतमै भएको कुराकानीका क्रममा पुडासैनीले प्रतिशोध साँधेर आत्महत्या गरेको आरोप लगाएका छन् । पुडासैनीले आफूलाई निकै माया र सम्मान गर्ने भन्दै रविले भनेका छन्, “उसलाई कसैले सुनाइदियो तेरो बारेमा रविले कार्यक्रम बनाउन लागेको छ भनेर, तर उसले मलाई एक कल फोन गरेर क्रस चेक गरेन । उसले मलाई माउण्टेन टिभीमा जाँदा मार्केटिङमा जान लागेको भनेको थियो तर बेलुकैदेखि कार्यक्रममा देखियो । त्यहि लाजले उसले मलाई फोन गर्न सकेन ।

आफैंले सम्मान र माया गरेको मान्छेले आफ्नै बारेमा कार्यक्रम बनाउन लाग्यो भन्ने भ्रममा परेर उसले चित्त दुखायो । युवारज कँडेलले कार्यक्रमका दौरान गरेका कुराहरुलाई उसले इगोको रुपमा लिएको रहेछ । अस्मिताले पनि विवाह गर्न मानिन । यो सबै कुराको प्रतिसोधमा उसले भिडियो बनाएर आत्महत्या गरेको हो ।”

रबिले प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको भूमिका शंकास्पद रहेको भन्दै आफूलाई मार्न पनि सक्ने बताएका छन् । “जसले अनुसन्धान भइरहेको भिडियो सरकारी फाइलबाट चोरेर सार्वजनिक गर्यो, मैले उसैको अनुसन्धान मान्नुपर्ने, रविले भनेका छन्, भाग्यो भनेर मार्न पनि बेर छैन, मैले मार्ने भए छातीमै गोली हान भनेको छु ।”

आफू बाहिर आएकाे ३ मिनेटमै निर्दोष रहेको प्रमाणित गरिदिने दाबी पनि उनले गरेका छन् । पुडासैनीलाई आत्महत्यका लागि दुरुत्साहन गरेको आरोपमा लामिछानेसहित पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की पनि हिरासतमा छन् ।(हेर्नुस् भिडियाे)