हेटौंडा, ४ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको बसामाडीमा दुईवटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार विहान ३ बजे भएको दुर्घटनामा अन्य ३० जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट जनकपुरका लागि छुटेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँका लागि छुटेको ना ७ ख २०५७ नम्बरको बस आपसमा ठोक्किएका हुन् । दुर्घटनामा काठमाडौँ आउँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते तीन जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको हेटौँडामै उपचार भइरहेको र सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएको जनाइएको छ ।