२७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित ६ जनालाई घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रधानाध्यापक सचिन्द्र कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ , विद्यालय व्यवस्थापन समितिका सदस्य जमिल मियाँ, इजलाश मियाँ, नजमुद्दिन मियाँ र शिक्षक सुरेश महतो पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियारको हेटौडा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।

उनीहरु सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा समातिएको अख्तियारले जनाएको छ । शिक्षक नियुक्तीको प्रलोभन दिएर उनीहरुले घुस लिन लागेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।