१२ माघ, एजेन्सी । सुप्रसिद्ध बास्केटबल खेलाडी कोबे ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टरमा सबार उनकी १३ वर्षीया छोरी जियाना सहित सबै नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

एकचालीस वर्षिय ब्रायन्ट चढेको हेलिकप्टर लस एन्जलसको पश्चिमको कालाबासासको पहाडी भागमा दुर्घटनाग्रस्त भएको थियो । खोज तथा उद्धार टोली दुर्घटनास्थलमा तत्कालै पुगे पनि कसैलाई बचाउन सकेका थिएनन् ।

अमेरिकी बास्केटबल एसोसिएसनमा पाँच पटकका च्याम्पियन तथा दुई पटक ओलम्पिक स्वर्ण पदक विजेता ब्रायन्टलाई अमेरिकी इतिहासमा महान बास्केटबल खेलाडीका रुपमा लिइन्थ्यो । लस एन्जलस लेकर्समा दुई दशक बिताउनुभएका ब्रायन्टलाई धेरै बास्केटबल खेलाडीका लागि पथप्रदर्शक र सम्मानका साथ हेरिन्थ्यो ।

लस एन्जलसका अग्निनियन्त्रकहरुले भिरालो पहाडी इलाकामा पुगेर उद्धारका कार्यमा जुटे पनि कसैलाई बचाउन नसकिएको राज्यको यातायात कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति तथा अन्य विशिष्ट महानुभावले ब्रायन्टको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।