५ माघ, एजेन्सी । बेलायती राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको वरिष्ठ सदस्य पद खारेज गरेको छ । अब यो दम्पत्तिले हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न नपाउने भएको छ ।

साथै राजकुमार दम्पत्तिले पब्लिक फन्डको रकम पनि नपाउने दरबारले घोषणा गरेको छ । दरबारको घोषणाअनुसार यो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व गर्न पाउने छैन । यो राजकुमार दम्पत्तिकै चाहना बमोजिम भएको हो । ड्युक एण्ड डचेस अफ ससेक्सको लागि छुट्याइएको करदाताको २४ लाख पाउण्ड अब राजकुमार ह्यारी दम्पत्तिले नपाउने दरबारले जनाएको छ ।

गत सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको बैठकपछि राजदरबारले यस्तो निर्णय लिएको हो । हालै सो दम्पतीले वरिष्ठ शाही परिवारबाट बाहिरिने घोषणा गरेको थियो । बेलायती महारानीले धेरै समयसम्मको कुराकानी र हालैको छलफलबाट आफ्नो नाति र परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेको राजदरबारको वक्तव्यमा उल्लेख छ । महारानीले वक्तव्यमा राजकुमार ह्यारी, मेघन र उनीहरुका छोरा आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्य सधैं रहने जनाइएको छ ।