१९ मंसिर, काठमाडौं । जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको टी–ट्वान्टी पुरुष क्रिकेटमा नेपालले भुटानमाथि ऐतिहासिक जित हासिल गरेको छ । खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । भुटानका मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । ५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।