२५ मङ्सिर, बाँके । सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताए। प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताए। उनले भने, “शङ्का लागेपछि आज प्रहरी पिछा गरेका थियाैँ । सोही क्रममा रु १३ लाख नगद रकमसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेका छौँ ।”

प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताए । यसअघि पनि नेपालगञ्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उनले जानकारी दिए । नेपाल र भारत सीमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् । रासस