१५ कात्तिक, चितवन । जिल्लामा लागतअनुसारको मूल्य नपाए पनि अण्डाको उत्पादनमा भने वृद्धि भएको छ । कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो तीन वर्षको अवधिमा अण्डा उत्पादनमा २९ दशमलव ७ प्रतिशतले वृद्धि भएका जानकारी दिए ।

जिल्लामा सन् २०१५÷१६ मा एक अर्ब ३४ करोड गोटा अण्डा उत्पादन भएको थियो । यो सङ्ख्या बढेर सन् २०१६÷१७ मा एक अर्ब ४१ करोड गोटा भयो । गएको वर्ष उत्पादन बढेर एक अर्ब ८३ करोड गोटा पुगेको उनले जानकारी दिए । तथ्याङ्क हेर्दा तीन वर्षको अवधिमा ४९ करोड गोटा बढी अण्डा उत्पादन भएको छ ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा देशको ५५ प्रतिशत अण्डा उत्पादन हुने गरेको छ । जिल्लामा अण्डाको उत्पादन वर्षेनी वृद्धि हुँदै गए पनि अण्डा उत्पादक विस्थापित हुने क्रम नरोकिएको भट्टराईले बताए । उनले अण्डामा लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको भन्दै दुखेसो गरेकाछन् ।

राज्यले कर्जामा सहुलियत, भन्सार करमा छुट दिए यो समस्या समधान हुने कुखुरा व्यवसायीले बताएका छन् । पोल्ट्रीजन्य कच्चा पदार्थ नेपालमै उत्पादन गरे लागत मूल्य कम हुने र व्यवसायमा टिक्न सकिने वातवरण बन्ने उनीहरुको भनाइ छ ।

उनका अनुसार अहिले ठूलो अण्डाको लागत मूल्य रु १० भन्दा बढी लाग्ने गरेको छ भने व्यवसायीले रु आठमा बिक्री गर्नुपर्ने अवस्था छ । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले उत्पादन बढी र खपत कम हुने भएकाले यो समस्या देखापरेको बताए । उनले भारतबाट आउने चल्लालाई रोक लगाउन सके केही हदसम्म समस्या समधान हुने उल्लेख गरे ।

पछिल्लो समय नयाँ कृषकहरु पोल्ट्री क्षेत्रको बारेमा ज्ञान हासिल नगरी पेशामा प्रवेश गर्दा कृषकहरु मर्कामा परेको उनकाे भनाइ छ । चितवनमा हाल ४०० को हाराहारीमा कुखुरा पालक कृषक रहेका छन् । रासस