२१ माघ, काठमाडौं । धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’को इन्टरनेशनल राइट्स महंगो मूल्यमा बिक्री भएको छ ।

सोमबार बिहान गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलमा सुविहानी फिल्मस्को तर्फबाट सिताराम कट्टेल (धुर्मस) र नेप्सिने कम्पनीका प्रमुख विधान कार्कीबीच १ करोड १५ लाख रुपैयाँमा खरिदबिक्रीको सम्झौता भएको हो । निर्माण टिमले फिल्मको ५० प्रतिशत नाफा रकम गौतम बुद्ध क्रिकेट रंगशालालाई दिइने घोषणा गरिएका छन् ।

रामबाबु गुरुङ निर्देशन गरेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायत कलाकारको अभिनय छ । फागुन ९ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई बिन्दु लामा ह्याल्मोले निर्माण गरेका हुन् । कुमार कट्टेल (जिग्री) र दिपक आचार्यको लेखन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीले छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।