२० माघ,बारा । बालक अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालकलाई सकुशल उद्दार गर्न पनि प्रहरी सफल भएको छ ।
बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोकास्थित पब्लिक बोर्डिङ स्कुलमा अध्ययरत १० वर्षीय बालक सरस्वती पूजाको प्रसाद विसर्जन गर्न गएका बेला अपहरणमा परेका थिए ।

जयप्रकाश साहको छोरा आकाश कुमार घर नफर्किएपछि उनका अभिभावकले प्रहरीलाई जानकारी गराए । इलाका प्रहरी कार्यालय प्रसोनीको टोलीले बालकको खोजी गरेको थियो । सो क्रममा अपहरणमा संलग्न प्रसौनी गाउँपालिका ५ प्रष्टोका राज कुमार राम र पर्साको वीरगञ्ज १४ गण्डक बहुअरीका १८ वर्षिय रमेश रामलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय राज कुमार रामले अपहरण गरेको खबर पाएपछि प्रहरीले खोजतलास गर्दै आईतबार कलैया उपमहानगरपालिका २४ श्रीपुर स्थित सडकमा उनलाई फेला पारेको थियो । अपहृत बालकलाई साईकलमा चढाएर लैजाँदै गरेको अवस्थामा फेला पारेको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका रामकुमारले मामा राजु रामको योजनामा बालकलाई ललाई फकाई अपहरण गरेको बयान दिएका छन् । मामाले अपहरण गरेबापत ५० हजार दिने रामकुमारले बताएका थिए ।

बालकलाई पर्साको वीरगञ्ज १४ गण्डक बहुअरीका १८ वर्षिय रमेश रामसँग मिली प्राप्त रकम बाँडफाड गर्ने योजना अनुसार रमेश रामको दिदीको घरमा एक दिन नशालु पदार्थ सेवन गराएर राखेको प्रहरीलाई बताएका छन् । प्रहरीले रामकुमारको बयानका आधारमा अभियुक्त रमेश रामलाई पक्राउ गरेको छ । अपहरणको मुख्य योजनाकार राजु राम अझैं फरार छन् ।