९ फागुन, काठमाडौं । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आएपछि विभिन्न जहाजको उडानहरु आकाशमै होल्ड भएर फर्किएका छन् । आज दिउँसोदेखि मौसममा आएको समस्याका कारण थाइ लाइन एयरलाइन्स, विमान बांग्लादेश एयरलाइन्स र भिस्टारा एयरलाइन्सको विमान आकाशमा होल्ड भएको विमान ट््रयाकर वेबसाइट फ्लाइटराडर डटकममा उल्लेख छ ।

बैंककबाट आएको थाइ लाइन एयरको विमान बंगलादेशको ढाका फर्किएको छ । विमानले २ बजे काठमाडौंमा ल्याण्ड गर्नुपर्ने थियो । ३ घण्टासम्म बाटो हेरेपछि पनि ल्याण्ड गर्न नसकेपछि विमान ढाका गएको हो । ३ घण्टा आकाशमा होल्ड हुँदा विमानले २२ पटक निगढमाथिको आकाशमा फन्को मारेको थियो ।

ढाकाबाट आएको विमान बंगलादेश एयरलाइन्सको विमान बंगलादेश नै फर्किएको छ । उक्त विमान दिउँसो पौने ४ बजे काठमाडौंमा ल्याण्ड गर्नुपर्ने थियो । विमानले काठमाडौं माथिको आकाशमा ९ फन्को लगाएर बंगलादेश नै फर्किएको छ । विमान झण्डै डेढ घण्टाभन्दा लामो समय आकाशमा होल्ड भएको थियो ।

दिल्लीबाट उडेको भिस्टारा एयरलाइन्सको विमान भारतको दिल्ली फर्किएको छ । सवा ४ बजे काठमाडौंमा ल्याण्ड हुनुपर्ने विमान हेटौँडामाथिको आकाशमा ८ फन्को लगाउँदै भारतको लखनउ एयरपोर्टतर्फ लागेको छ । यो विमानपछि करिब सवा घण्टा आकाशमा होल्ड भएर फर्किएको हो । अहिले आन्तरिक उडान र अवतरण भइरहेता पनि अन्तर्राष्ट्रिय उडान र अवतरण भने हुन सकेको छैन ।

नेपाली आकाशमा एयर ट्राफिक जाम हुनु नौलो कुरा होइन । यसअघि पनि बिशिष्ठ अतिथिहरुको सवारीको क्रममा लामो समय विमानहरु आकाशमै होल्ड भएका छन् । आकाशमा हुने एयर ट्राफिक नियन्त्रणको लागि भन्दै सरकारले पोखरा र लुम्बिनीमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुने क्रममा छ । लुम्बिनीको भैरहवामा निर्मार्णाधीन विमानस्थलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने पोखरा विमानस्थलको काम पनि ७० प्रतिशतभन्दा बढी भइसकेको छ ।