१ चैत, नुवाकोट । तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यवसायीले सेवा अवरुद्ध बनाएका छन् ।

काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसूरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले शनिबार बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् । पक्राउ पर्नेमा बा ४ ख ८४३५ नम्बरका ईश्वर बोगटी, बा ३ ख ९०६६ का रामशरण श्रेष्ठ र बा ५ ख ८२१० का समिर लामा रहेका छन् ।

उनीहरुमाथि ‘झुठा मुद्दा’ लगाएको भन्दै यसको विरोधमा यातायात सेवा प्रभावित बनाएको व्यावसायीले बताएका छन् । सेवा अवरुद्ध गरिएपछि काठमाडौँबाट आउने सवारी साधान प्रभावित भएका छन् भने यहाँबाट भने काठमाडौँ जान लागेका गाडी यात्रु लिएर त्यसतर्फ गएका छन् । अकस्मात गरिएको यातायात सेवा अवरुद्धले यात्रु समस्यामा परेका छन् ।

काठमाडौँ–केरुङ यातायात प्रालिका नुवाकोट–रसुवा इञ्चार्ज रामराजा बोगटीले चालकलाई तत्कालै रिहा गर्न माग गरे । माछापोखरीमा आफ्ना गाडी सडकमै राखेर चालक रिहाइका लागि विरोध प्रदर्शन र दबाब दिइरहेको बेलकोटगढी नगरपालिका–४ का यातायात व्यावसायी सागर चालिसेले जानकारी दिए । रासस