२५ मंसिर, एजेन्सी । पाकिस्तान प्रहरीका सेवानिवृत्त अधिकारी राव अनवर अहमद खानलाई मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै अमेरिकाले कालोसूचीमा राखेको छ । अमेरिकाको अर्थ मन्त्रालयका अनुसार पाकिस्तानको सिन्ध प्रान्तको मलिर जिल्लाका वरिष्ठ प्रहरी अधिकृतको रुपमा सेवा गरेका इन्काउन्टर स्पेशलिस्ट रावलाई गैरकानुनी इन्काउन्टरको आरोप लगाइएको छ ।

मलिरमा एसएसपीको रुपमा काम गर्दा उनले लगातार प्रहरी मुठभेड अर्थात इन्काउन्टर गरेको अमेरिकी रिपोर्टको दाबी छ । उनले कैयौँ निर्दोषहरुलाई पनि हत्या गरेको अमेरिकाद्वारा जारी रिपोर्टमा उल्लेख छ । यतिमात्र नभएर अनवरमाथि गैरकानुनी रुपमा रकम असुली गरेको, भूमि अधिग्रहण गरेको, मादक पदार्थको तस्करी र हत्या गरेको आरोपसमेत लगाएको छ ।

अमेरिकी रिपोर्टमा अनवरले मलिर जिल्लामा मात्र १ सय ९० वटाभन्दा बढी इन्काउन्टर गरेको बताइएको छ । जसमा ४ सय भन्दा बढी मानिस मारिएका थिए । अमेरिकी अर्थ मन्त्रालयको ट्रेजरी विभागले आर्थिक प्रतिबन्ध लगाउने अनवर पहिलो व्यक्ति भने होइनन् । उनीजस्तै आरोप अन्य ६ देशका १८ प्रहरी अधिकृतमाथि पनि यस्तो आरोप लगाउँदै अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी प्रहरी अधिकृत अनवरले गम्भीर मावनअधिकारको दुरुपयोगमा प्रत्यक्ष एवं अप्रत्क्ष रुपमा सहभागी भएको अमेरिकी ट्रेजरी विभागका सचिव स्टिवन टी न्यूकिनले बताए । अमेरिकाले निर्दोष नागरिकहरुमाथिको अत्याचार, अपहरण, यौन हिंसा, हत्या वा क्रुरता नसहने न्यूकिनले उल्लेख गरेका छन् ।