एजेन्सी । एक १२ वर्षीया बालिकाले ४० वर्षको पुरुषसँग विवाह गरिन् । मरियम नबातांजी नाम गरेकी युगाण्डाकी तीनै बालिकाले अहिले सबैभन्दा धेरै बच्चा जन्माउने महिलाका रुपमा पहिचान बनाएकी छिन् ।

उनले अहिलेसम्म कूल ४४ बच्चा जन्माइसिकेकी छिन् । उनले पाँच पटक त चार-चार वटा बच्चालाई जन्म दिइन् अर्थात् पाँच पटकमै २० बच्चा जन्माइन् । मरियमले चार-चार बच्चा पाँच पटक, तीन- तीन बच्चा चार पटक र जुम्ल्याहा बच्चा ६ पटक जन्म दिएकी थिइन् । अचम्मको कुरा त के छ भने उनले अहिलेसम्म एउटा मात्रै बच्चा पाएकै छैन । उनी पहिलो पटक विवाह गरेको एक वर्षमा जुम्ल्याह बच्चा जन्माएकी थिइन् ।

तीन वर्ष अघि मरियमका श्रीमान्ले उनलाई छाडेर गएका छन् । मरियम एक्लैले अहिले ३८ बच्चाको पालनपोषण गरिरहेकी छिन् । उनका ६ बच्चा भने बाँच्न सकेनन् । मरियम युगाण्डाको कम्पाला भन्दा झण्डै ५० किलोमिटर टाढा एक गाउँमा बस्छिन् ।

पहिलो पटक गर्भवती हुने बेला जचाउन जाँदा डाक्टरले उनको अण्डाशयको आकार सामान्य भन्दा ठूूलो रहेको बताएका थिए । मरियम पछिल्लो पटक साढे २ वर्ष अघि सुत्केरी भएकी थिइन् । उनले जन्माएका जुम्ल्याह बच्चामध्ये एकको मृत्यु भएको थियो । त्यसपछि नै उनलाई पतिले छोडेका हुन् ।