२० कात्तिक, काठमाडौं । लामो समयदेखि प्रतिक्षारत चलचित्र ‘प्रेम गीत ३’को मोसन पोस्टर रिलिज गरिएको छ । चलचित्र निर्माण टीमले बुधबार सामाजिक सञ्जालमार्फत चलचित्रको मोसन पोस्टर रिलिज गरेको हो । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक ५६ सेकेण्डको मोसन पोस्टमा नायक प्रदीप खड्का घोडामा चढेका छन् । भिडियो हेर्दा उनी कुनै युद्ध लडेर आएकोजस्तो भान हुन्छ ।

चैत २८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको छिट्टै नै छायांकन शुरु हुँदैछ । चलचत्रि सुटिङको लागि भन्दै चलचित्रका निर्माता एवं कलाकार सन्तोष सेनले सेट निर्माणको काममा धमाधम लागिरहेका छन् । उनले बनाएको सेट निर्माण हेर्दा चलचित्रमा पौराणीक कथाको हुने अनुमान गर्न सकिन्छ । मोसन पोस्टरमा पनि चलचित्रमा तरबार चलाएको आवाज स्पस्टै सुन्न सकिन्छ । त्यसकारण पनि चलचित्र पौराणीक कथामा निर्माण हुन लागेको भन्ने सहज अनुमान गर्न सकिन्छ ।

स्क्रिप्ट र सेट निर्माणमा धेरै समय लगाएको चलचित्र निर्माण टीम अब फ्लोरमा जाने तयारीमा छ । चलचित्रमा प्रदीप, र सन्तोषको साथमा मुख्य नायिकाको भूमिकामा क्रिस्टिना गुरुङ हुनेछिन् । २५ सय भन्दा बढीको अडिसनबाट छानिएर उनले चलचित्रमा अभिनयको मौका पाएकी हुन् । यस्तै शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा, मनिष राउत, पुष्कर कार्की, लक्ष्मी वर्देवा, लगायतका कलाकारहरुले चलत्रिचमा काम गर्नेछन् ।

चेतन गुरुङ र मन्दीप गौतमले लेखेको फिल्मलाई चेतनसँगै सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कुमार शान शाह र ओएसआर डिजिटल सह–निर्माताको रुपमा रहेको चलचित्र आशुषेन फिल्म्स्को ब्यानरमा बन्न लागेको हो । चलचित्रमा कल्याण सिंह र एलिस कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविसा अधिकारीले गीतमा स्वर भर्नेछन् ।