२७ माघ, एजेन्सी । हङकङमा पाँचदिनदेखि रोकिराखेको एक पानीजहाजमा फसेका हजारौँ मानिसमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएपछि बाहिर निस्कन अनुमति पाएका छन् ।

वर्ल्ड ड्रिम पानीजहाजमा सवार करिब ३६ सय यात्रु र क्रु सदस्य कोरोना भाइरस फैलने डरले जहाजभित्रै रोकिएको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएको अर्को जहाजलाई भने जापानमा पस्न दिइएको छैन । भाइरसका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ । यसमा दुईजना भने चीनभन्दा बाहिर फिलिपिन्स र हङकङको हो ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या केही वर्ष अघिको सार्सबाट मृत्यु हुनेभन्दा पनि बढी भइसकेको छ । सार्सको कारण २०१३ मा चीनसहित अन्य देशहरुमा पनि ७ सय ७४ जनाको मृत्यु भएको थियो । कोरोनो भाइरसको केन्द्र भनिएको हुवेई प्रान्तको क्षेत्रीय स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा अहिलेसम्म ७ सय ७० जनाको मृत्यु भइसकेको छ । रोगबाट विश्वभरका ३४ हजार ८ सय मानिस संक्रमित भइसकेका छन् ।

हङकङमा भएको पानीजहाजमा परीक्षणको क्रममा त्यहाँ सवार तीन यात्रुमा कोरोनो भाइरसको संक्रमण पुष्टि भएपछि पानीजहाजलाई त्यहि रोकिएको थियो । पानीजहाजमा पसिकेका मानिसहरुलाई यथास्थानमा राखेर उपचार गरिएको थियो । उनीहरुमा पनि संक्रमण छ की भन्दै परीक्षण गरिएको थियो । तर उनीहरुमा परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि नभएपछि बाहिर निस्कन अनुमति दिइएको हो ।