१३ चैत, जनकपुरधाम । धनुषाको शहीद नगरपालिकामा होलीपर्वमा हत्याको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ ।

नगरपालिका वडा नं ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शहीदनगरको डिहवारस्थित आफ्नै घर कोठामा सुतिरहेका राजकिशोरमाथि फागुन २७ गते होलीपर्वमा कङ्क्रिट प्रहार गरी हत्या गरेको बताइएको छ । नियन्त्रणमा लिएका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस