१३ माघ, एजेन्सी । यमनका हुथी विद्रोहीहरूले बन्दी बनाएका बालबालिकालाई पर्याप्त स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका छन् ।

भिडन्तका क्रममा नियन्त्रणमा लिइएका बालबालिकाहरूलाई पुनर्स्थापना केन्द्रमा पठाएर उपचार गराइएको उनीहरुले बताएका छन् । बन्दी बालबालिकालाई उपचार गराएर दुई महिनापछि रिहा गरिने पनि विद्रोहीले सोमबार बताएका छन् । राष्ट्रसंघीय श्रोतका अनुसार विद्रोहीहरुले नियन्त्रणमा लिएका ६४ जना सवै १८ बर्षभन्दा कम उमेरका रहेका छन् ।

नियन्त्रणमा लिइएका बालबालिकालाई उपचारका लागि पुनस्र्थापना केन्द्रमा पठाउने हुथी विद्रोहीको निर्णयलाई संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले स्वागत गरेको छ । हुथी बन्दीगृहका प्रमुख अब्दुलकदेर अल मुर्ताधाले सानामा एएफपीसँग भने, ‘ती सवै बालबालिकालाई नियन्त्रणमा राखिएको छ, सरकारी सेनासँग भएको भिडन्तका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।’

पुनर्स्थापना केन्द्रमा दुई महिना राखेपछि उनीहरुलाई विद्रोहीहरुको प्रशासनले सामाजिक मामिला मन्त्रालयमा हस्तान्तरण गर्ने मुर्ताधाले बताए । द्वन्द्वग्रस्त मुलुक यमनमा सरकारी पक्ष र विद्रोही पक्षबीच सन् २०१५ को मार्चदेखि द्वन्द्व चलिरहेको छ । युनिसेफका प्रतिनिधि सारा बेयसोलोव न्यान्तीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हुथी विद्रोहीले भिडन्तका क्रममा नियन्त्रणमा लिएका ६४ जना बालबालिकाहरुलाई पुनर्स्थापना केन्द्रमा पठाउने निर्णयको म स्वागत गर्दछु ।’

उनले बालबालिकाहरुलाई द्वन्द्वमा नपार्ने र युद्धका लागि प्रयोग नगर्ने कुरामा समेत हस्ताक्षर गर्ने विश्वास व्यक्त गरेका छन् । इरानको समर्थन तथा सहयोग रहेको हुथी विद्रोही र यमन सरकारको सहयोग रहेको गठबन्धन सेनाबीच यमनमा पछिल्लो पाँच बर्षमा भएको द्वन्द्वका क्रममा दश हजारभन्दा बढी यमनी नागरिकको मृत्यु भएको छ ।