२० साउन, काठमाडौं । संसदमा फेरि गतिरोध उत्पन्न नहोस् भन्नका लागि प्रतिनिधिसभाको बैठकले ७ सदस्यीय विशेष समिति गठन गरेको छ ।

सर्वदलीय बैठकमा भएको सहमति अनुसार सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा राखेको समिति गठनको प्रस्ताव सर्वसम्मत पारित भएको हो । सुवास चन्द्र नेम्वाङको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा नेकपाका तर्फबाट देव गुरुङ र विन्दा पाण्डे, नेपाली काँग्रेसका तर्फबाट पुष्पा भुषाल र डाक्टर मिनेन्द्र रिजाल, राजपाका तर्फबाट लक्ष्मणलाल कर्ण र समाजवादी पार्टी नेपालका उमाशंकर अरगरिया रहेका छन् ।

प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १७७ बमोजिम गठित समितिले संसदमा गतिरोध आउन नदिन आवश्यक अध्ययन तथा सुझाव दिनेछ । अध्ययन तथा सुझाव संसदीय विशेष समिति नाम दिइएको समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि व्यवस्थि तगर्न सक्नेछ । समितिले आवश्यक देखेमा अन्य व्यक्तिको सहयोग समेत लिन सकिने सभामुख कृष्णबहादुर महराले संसद बैठकमा जानकारी दिए । समिति कार्य प्रारम्भ भएको मितिले ३० दिनसम्म कायम रहनेछ ।