२२ कात्तिक, काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका–१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

राईले कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका–६ घर भएका पुरुषलाई जर्जियामा क्लिनरको जागिर लगाईदिने भन्दै ७लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए । कम्पनिले ९० हजार रुपैयाँको मासिक तलब, खान र बस्न दिने प्रलोभनमा पारी राईले ठगी गरेका हुन् । राईलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा निज राईले राजन राईबाट ३ लाख ५० हजार र ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।