११ फागुन, जनकपुर ।
जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । एमाले नेता रघुवीर महासेठको घरमा बसेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई घेरा हाल्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप भएको हो । एमाले कार्यकर्ताको आक्रमणबाट मोर्चाका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार राजकुमार साह र कुलदीप साह घाइते भएका हुन् । राजकुमारको खुट्टा भाँचिएको छ भने दुबै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको सिंहले जानकारी दिए । एमाले नेता महासेठले भने मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्दा आफ्नो घरका झ्यालका शिसा फुटेको तर कसैलाई पनि चोटपटक नलागेको जानकारी दिए ।

सद्भावना नेता सिंहले एमाले उपाध्यक्ष गौतम अहिले महासेठको घरमा लुकेर बसेको र आफूहरुले घेरा हालेर कालो झण्डा देखाएको बताए । सिंहका अनुसार मोर्चाको अवरोधका कारण गौतमको काठमाडौं फर्कने हवाई जहाजको टिकट समेत रद्ध गरिएको छ ।

संविधान संसोधन गरेर समस्या समाधान नगरी स्थानीय तहको चुनावको मिति घोषणा गरेर मधेसलाई गिज्ज्याउन खोजेको र असहज परिस्थिती निर्माण गर्न एमालेले भूमिका खेलेको भन्दै आफूहरुले गौतमलाई कालो झण्डा देखाएको मोर्चाको भनाई छ ।

तर एमाले नेता महासेठले भने हिजो आफूहरुले गरेको कार्यक्रमबाट मोर्चा अत्तालिएर गुण्डा शैलीमा आक्रमणमा उत्रेको बताए । अहिले पनि त्यहाँको अवस्था असामान्य रहेको र प्रहरी घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।