१० जेठ, काठमाडौं ।
धारिलो हतियार छुरी देखाई लुटपाट गरी फरार भएका काठमाडौं शंखमुल बस्ने काभ्रे जिल्ला बनेपा–६ घर भएका १८ वर्षीय सुरज ताम्राकार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती अभियुक्तहरुले काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित भित्री गल्लीमा काठमाडौं महानगरपालिका–४ चुनदेवी बस्ने मकवानपुर जिल्ला हेटौंडा–९ घर भएका ३० वर्षीय रबनी पन्त र काठमाडौं महानगरपालिका–५ ल्होसार पिपलबोट बस्ने सिन्धुपाल्चोक सेलाङ घर भएका २४ वर्षीय सुमन सिलवाल बाटोमा हिंडिरहेको अबस्थामा जेठ ९ गते राती छुरा देखाई नगद २ हजार ५ सय, मोवाईल १ थान, सुनको सिक्री १ थान र झोलासमेत गरी अन्दाजी ५६ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट गरी फरार भएका थिए ।

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत लैनचौरबाट प्रहरी टोली खटी गई खोजी गर्नेक्रममा उक्त लुटिएको सामानमध्ये सामसुङ मोवाईल १ थान र झोलासहित उनीहरु ३ जनालाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।