११ असार, काठमाडौ ।

नेकपा एमालेले नवौं महाधिवेशनका लागि अधिकांश प्रतिनिधि छनौट गरेको छ । महाधिवेशनका लागि झण्डै उन्नाइस सय प्रतिनिधि छनौट भइसकेको पार्टीले जनाएको छ । पहिलो चरणमा असार सात गते र मंगलवार गरी प्रतिनिधि छनौट गरिएको र केही स्थानमा विविध कारणले छनौट हुन बाँकी रहेको एमालेले जनाएको छ ।

 

मंगलवार संबिधानसभा उपनिर्वाचन भएका सहित बीस जिल्लाका महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । यसैगरी पेशागत संगठन, मोर्चा संगठन, विद्यार्थी बिशेष तथा मजदुर फाँटका प्रतिनिधि पनि चयन भएका छन् । काठमाडौं क्षेत्र नम्बर दुई र दाङ क्षेत्र नम्बर एकको प्रतिनिधि छनौट बाँकी छ ।

uml headquarters

केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भए पनि अधिकांश स्थानमा अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्ष प्यानलनै बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए ।

 

केन्द्रीय सदस्य, अनुसासन आयोग, सल्लाहकार परिषद्, निर्वाचन तथा लेखा आयोग तथा जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने एमाले विधानमा उल्लेख छ । एमालेको महाधिवेशन आगामी असार १९ गतेदेखि काठमाडौमा हुँदैछ ।