सार्क विशेषः हेडलाइन टिप्पणी ।
यतिबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं सम्मेलनको तयारीमा सरकार जुटेको छ । सिंगो देश सार्क सम्मेलनको तयारीमा केन्द्रित भएको देखिन्छ। गृह मन्त्रालय शान्ति सुरक्षाको तयारीसम्बन्धी बैठकमा ब्यस्त छ भने परराष्ट्र मन्त्रालय व्यवस्थापनमा लागि परेको छ । सार्क सम्मेलनमा यो संगठनमा सदस्य रहेका ८ देशका सरकार प्रमुखहरु अतिथिकोरुपमा नेपाल आउँदैछन् । तर सार्क सम्मेलनको सम्पूर्ण तयारी भन्दा पनि सरकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा केन्द्रित भएको जस्तो देखिन्छ । सरकारले चारैतिर गरेको तयारी भारतीय प्रधानमन्त्री मोदीमा केन्द्रित छ । हुन त सुरक्षा विश्लेषकहरुले सार्कमा आउने विशिष्ठ पाहुना मध्ये सबैभन्दा बढी सुरक्षा खतरा भारतीय प्रधानमन्त्री मोदीलाई नै भएको भन्ने गरेको भएपनि यो विश्लेषण निर्विविवाद छैन । कतिपयले यस्तो सुरक्षा खतरा मोदीलाई भन्दा बढि पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रिफलाई भएको बताउँछन् । नेपालमा भारतसँग खुल्ला सिमाना रहेकोले कुनै भारतीय अतिवादी समूहले आफ्ना प्रधानमन्त्री नवाज सरिफमाथि आक्रमण गर्न सक्ने चिन्ता पाकिस्तानी दूतावासका अधिकारीहरुले व्यक्त गरेको प्रहरी अधिकारीहरु बताउँछन् । तर सम्पूर्ण तयारी मोदीमा केन्द्रित छ र मोदीको सुरक्षाको मात्र विषय नभएर सार्क सम्मेलनकै क्रममा मोदीले गर्ने भनिएको विभिन्न ठाउँको स्थलगत भ्रमण र उनले गर्ने भनिएका भाषणले देशभरी नै तरंग ल्याइरहेको छ ।
मोदीको तरंग र भाषण
यस अघि गत साउनमा नेपाल भ्रमणमा आउँदा संसदमा भाषण गरेर सेलिब्रेटी बनेका मोदीले अव भने संसदमा नभएर खुला सभामा नै भाषण गर्ने मनसाय देखाएका छन् । त्यसका लागि जनकपुरमा उनको भाषणका लागि त सरकारले तयारी नै थालेको छ । अघिल्लो नेपाल भ्रमणमा बानेश्वरका सडकमा ओर्लिएर सर्वसाधारणसँग हात मिलाएका मोदी यस पटक झनै नयाँ पन ल्याउन सडकमार्गबाट नै नेपाल पस्ने तयारीमा छन् । नेपालमा उनलाई विभिन्न ठाउँमा नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको छ । नेपालप्रति विशेष भाव देखाउन मोदीले कुनै कसर बाँकि राख्ने छैनन् । तर यही उनको चाहाना ब्यवस्थापन गर्न भने नेपाल सरकारलाई पसिना आइरहेको छ । अघिल्लो पटक पशुपतिमा गएर आगन्तुक पुस्तिकाबाट विशेष सन्देश दिएका मोदीले आफ्नो धार्मिक छवि कायम गर्दै यस पटक जनकपुर मात्र नभएर बुद्ध जन्मेको लुम्बिनी देखि मुक्तिनाथ सम्म जाने तयारीमा छन् । मोदीले आफू पुगेको ठाउँमा भाषण समेत गर्ने चाहना देखाएपछि उनलाई भाषण गर्न दिने कि नदिने भनेर अन्यौलमा परेका सरकारी अधिकारीहरु उनको सुरक्षा ब्यवस्था मिलाउने विषयमा पनि चिन्तामा छन् । मोदीले जनकपुरमा भाषण मात्र गर्ने छैनन् उनले त्यहाँ स्कुले बालबालिका साइकल समेत बाँढ्ने कार्यक्रम छ । तर परराष्ट्रका अधिकारीहरुलाई मोदीलाई कुटनीतिक घेरामा सीमित गर्न सक्ने कि नसक्ने भनेर गमिरहेको बुझिन्छ ।
न रोक्न सक्ने न सहजै दिन सक्ने सरकार
मधेशको टेन्सन्
मोदीका गतिविधी कुटनीतिक मर्यादाभित्र हुन्छन् वा त्यसबाहिर समेत पुग्न सक्छन् भन्ने विषयमा अन्यौलमा रहेको सरकारलाई सार्कको पुरै तयारी भन्दा टेन्सन मोदीकै ब्यवस्थापनमा छ । बाढी आए जसरी आउन सक्ने र प्रभाव छोड्न सक्ने क्षमताका मोदीसँग मधेशको मुद्धाका कारण पनि झस्किएको छ काठमाडौं । मोदीले सडक मार्गबाट आउने इच्छा देखाएपछि सडक मर्मत गर्न दौड धुप गरिरहेको सरकारलाई उनको सुरक्षा मात्र होइन कुटनीतिक ब्यवहार ब्यवस्थापनको सबैभन्दा ठूलो चुनौती छ । मधेश यसै पनि संवेदनशील विषय बनिरहेको समयमा संविधान बन्ने चरणमा मोदीले मधेशमा कुनै पनि रंग फ्याँकिदिए भने त्यसको तरंगले काठमाडौं प्रभावित हुने कुरामा पनि सरकार र नेताहरुलाई चिन्ता छ । खासगरी मधेश मुद्धामा तुलनात्मकरुपमा अनुदार मानिएका सत्तारुढ दल कांग्रेस र एमालेका लागि त मोदीको मधेश भ्रमण र त्यहाँ गर्ने भाषण साँच्चिकै टाउको दुखाइ बनेको विश्लेषण समेत गरिएको छ । यद्यपी मधेश विश्लेषकहरु भने मोदीले मधेशमा मधेशी मुद्धामा बोल्न भन्दा पनि जनसम्पर्क स्थापना गरी प्रभाव विस्तार गर्न चाहेको बताउँछन् ।
धर्म, राजनीति र कुटनीति
सार्क सम्मेलन क्षेत्रीय सहयोग संगठनले क्षेत्रीय सहकार्य र सहयोगका विषयमा छलफल गर्ने मञ्च हुनु पर्ने भएपनि मोदीको चासो सार्क सम्मेलनमा भन्दा पनि दोश्रो संस्करणको नेपाल भ्रमण जस्तो देखिन्छ । उनले जनकपुरबाट नेपाल छिरेर लुम्बिनी मात्र होइन मुस्ताङ जस्तो चीनसँग सीमा जोडिएको संवेदनशील ठाउँमा रहेको मुक्तिनाथ मन्दिरको भ्रमण गर्नेछन् । त्यतिमै मात्र उनको भ्रमण सीमित छैन चीनको टाउको दुखाउने क्षेत्रमा पुगेर भारतले बनाइदिएको खाने पानी आयोजनाको शिलन्यास गर्ने बताइएको छ । सार्क सम्मेलनमा आएका बेला सार्वजनिक सम्बोधन र साइकल बाँड्ने कार्यक्रम सहित धार्मिक यात्राका लागि कस्सिएका मोदी सरकारलाई सार्क तयारी भन्दा भारी परेको अनुभव गर्न कठिन छैन । मोदी धार्मिक छवि खुलारुपमा राखेर राजनीति र कुटनीति गर्न अव्वल नेता हुन् । तर उनको धार्मिक छवि भित्रको कुटनीति र राजनीति सम्हाल्न नेपाल सरकारलाई धौ धौ त छ नै यही कारणले सार्कको अपेक्षित विकाश हुन नसकेको विश्लेषण गर्नेहरुलाई समेत बल पुग्ने देखिन्छ । हुन त मोदीले आफ्नो सपथग्रहण समारोहमा नै सार्क क्षेत्रका सबै नेताको उपस्थिति गराएर सार्क र छिमेकीलाई दिने महत्व झल्काएका थिए तर मोदीको भित्री चाहाना सार्कलाई बलियो बनाउनु भन्दा पनि छिमेकीलाई खुसी पारेर भारतलाई ‘ठूल्दाइ’ बनाइ राख्नु देखिन्छ ।
सहज र असहज मोदी
भारतीय प्रधानमन्त्री मोदीले १७ वर्ष सम्म भारतीय प्रधानमन्त्रीले गर्न नचाहेको नेपाल भ्रमण गरेर सम्बन्ध सहज तुल्याए । संसदमै भाषण गरेर उनले नेपाली नेताहरुलाई शिक्षा दिँदा नेताहरुले ताली पिटेका थिए । मोदीकै कारण नेपाल र भारतबीच कर्मचारीको स्तरमा रहेको सम्बन्ध राजनीतिक तहमा उक्लिएको छ । मोदीले संसदबाटै १ अर्वको ऋण सहयोगको घोषणा गरे जुन नेपालले आफूले चाहेको क्षेत्रमा खर्च गर्न सक्छ । मोदीले नेपाललाई सहज तुल्याउन बुलेट प्रुफ गाडीको ब्यवस्था समेत भारतबाटै गराएका छन् । त्यति मात्र होइन अन्य पाहुनालाई समेत भारतबाटै पैँचो ल्याएका गाडी प्रयोग हुँदैछन् । तर तिनै सहज मोदी कुटनीतिक तहमा पुग्दा नेपाली नेताहरुका लागि असहज बनिरहेका छन् । मोदीको ब्यक्तित्वसँग डिल गर्ने आँट र औकातको अभावमा नेपाली शासकहरु मोदीको ब्यवहारलाई ब्यवस्थापन गर्न नै धौ धौ मानिरहेका छन् । मोदीसँग हात मिलाउँदा समेत दरो हात पार्न नसक्ने प्रधानमन्त्रीलाई मोदीले देशका संवेदनशील क्षेत्रको भ्रमण गर्ने र भाषण समेत गर्ने कुराले टाउको दुखाएको छ । नेपालमा ब्याप्त भारत विरोधी मानसिकतालाई ब्यवस्थापन गर्न नसक्दा पनि मोदी भारी परेको देखिन्छ । यसै कारणले हुन सक्छ क्षेत्रीय सहयोग संगठनकोरुपमा रहेको सार्कको सम्मेलनको तयारी गर्दै गरेको सरकारलाई सार्कको सम्पूर्ण तयारी भन्दा पनि एक्ला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यवस्थापनले पसिना काड्ने बनाएको छ ।