काठमाडौं ।
हेडलाइन्स टिप्पणी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारतको भूमिका खुलारुपमा नै ‘ठूल्दाइ प्रवृति’ मा आधारित रहेको र रहने पटाक्षेप गरेका छन् । सार्क सम्मेलनमा काठमाडौं आएका मोदीले प्रदर्शन गरेको ब्यवहार र बोली क्षेत्रीय संगठनको शिखर सम्मेलनमा आएको भन्दा पनि कुनै देश वा आफ्नै उपनिवेशको देशमा भ्रमणमा गएको जस्तो देखिन्छ । अझ भारत र नेपालबीच रहेका सीमा लगायतका अन्य समस्या मोदीको भ्रमणमा पुरै समाधान भैरहेको जस्तो भान हुन्छ । गत साउनमा नेपाल आएका मोदीले संविधानसभामा विशेष संवोधन गरेर नेपाली नेताहरुलाई लामै उपदेश दिएका थिए । त्यतिबेला मोदीले नेपाल सार्वभौम र स्वतन्त्र देश हो भन्दै उपदेश दिँदा ताली बजाएका नेताहरु यतिबेला पनि मखलेल छन् । सार्क सम्मेलनमा सहभागी हुन आएपनि मोदीले नेपाली राष्ट्रिय विवादको केन्द्रमा रहेको संविधान निर्माणमा भैरहेको विवादमाथि ठाडै हस्तक्षेप गर्दै बहुमतीय संविधान बनाए नेपाल संकटमा फस्ने कठोर र दीर्घकालीन महत्वको टिप्पणी गरे । मानौं नेपालमा संविधान बनाउने कुरा पनि सार्ककै एजेण्डा हो जस्तै गरी मोदीले ट्रमा सेन्टर हस्तान्तरणका लागि आयोजित सामान्य कार्यक्रममा लामो भाषण दिए र दलहरुलाई चेतावनीपूर्ण भाषामा भने- ‘मधेशी, माओवादी र पहाडियाले आफ्नो आवाज नभएको गुनासो गर्ने संविधान नबनाउ’ ।
बीर अस्पतालमा भाषण गर्दै मोदी
बुढी मरेको भन्दा पनि काल पल्केको पिर
मोदीले बोलेका कुरा अहिले कस्का लागि कर्ण प्रिय र कसका लागि कर्णकटू भन्ने विवादको विषय होला तर उनले बोलेको प्रवृत्ति भने नेपालका लागि दीर्घकालीन खतराको विषय हो । कुनै पनि सार्वभौम मुलुकको आन्तिरक राजनीतिक विवादको विषयमा कुनै छिमेकी देशको प्रभावशाली प्रधानमन्त्रीले सोझै यसो गर्नु हुन्छ यसो गर्नु हुन्न भन्नु डरलाग्दो विषय हो । हुन त सत्तामा रहनका लागि भारतको आशिर्वाद अत्यावश्यक रहेको बुझेका सत्तारुढ दलका नेताहरुले मोदीले बोलेको कुरा बुझे पनि नबुझेको जस्तो गर्नु परेको वास्तविकता सबैले महसुस गर्ने विषय हो । तर मोदीले संविधान निर्माणको विषयमा यसो गर र उसो गर भनेर नेपाली आन्तरिक मामलामा खुला धावा बोलेका छन् । अहिले एकीकृत माओवादीले उठाएको एजेण्डा अर्थात संविधान बहुमतको आधारमा नभइ बहुमतमा संविधान बनाउनु पर्ने भनेर मोदीले भनेको कुरा एमाओवादी नेतृत्वको विपक्षी २२ दलीय गठबन्धनलाई कर्ण प्रिय लागेको हुन सक्छ । तर यो केवल मुतको न्यानो जस्तो मात्र हो । देश भित्रका समस्या हामी सुल्झाउन सक्छौं तपाइँले अन्य दुई पक्षीय विषयमा बोल्नुस् भनेर मोदीसँग साहसिक वार्ता गर्ने औकात र आँट नभएका हाम्रा लघु नेताहरु मोदीको भाषणपछि कोही खुसी हुँदै र कोही क्षुव्द हुँदै सोल्टी होटलमा लर्को लागेर उनैलाई भेट्न गए । कुनै बेला भारतीय हस्तक्षेपका विरुद्ध कडा बक्तव्य जारी गर्ने नेताहरु पनि यतिबेला मोदीको भाषण आफ्नो पक्षमा देखेर मख्ख छन् । उनीहरुले अलिकति पनि विचार गरेका छैनन् कि भोलि आफ्नो प्रतिकुलमा समेत यस्तो भनाइ विष वृक्ष बनेर आउन सक्छ ।
मोदी कुटनीति कि राजनीति गर्दैछन् ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनमा काठमाडौं आएपछि अघिल्लो एकल भ्रमण भन्दा आक्रामक छनक दिए । शुरुकै कार्यक्रममा उनले नेपालको आन्तरिक विषयमा खुला हस्तक्षेप गर्दै उनले उपदेश दिने क्रम शुरु गरेपछि नेपाली राजनीति नै तरंगित भएको देखिन्छ । नेपालप्रति भारतीय रवैयाका कठोर आलोचक मानिने राजनीतिक विश्लेषक भन्छन्- कुनै नेपालीले भारतसंग संबन्ध राम्रो नहोस् भनेर न कहिल्यै चाहेका थिए, न भोलि नै चाहन्छन् । नेपालीहरुको एउटै चाहना हो, भारतले गर्दै आएको जबर्जस्ति र अत्याचार बन्द गरोस्। हामीलाई कसैका गुलिया शब्दहरु चाहिएको छैन्, निश्छल व्यवहार चाहिएको छ। हामीलाई ४ गेडा कनिका पालेर फकाएको मन पर्दैन, आधारभूत समस्याहरुको समाधानमा सहमति चाहिएको छ। जबसम्म ठूलो हुँ भन्नेले अर्काको घरमा हुलेका आफ्ना फौज हटाउँदैन, तबसम्म त्यसलाई मित्र मान्न सकिंदैन।’ नेपालका विघाहा विघाहा जमिन मिचेको देशको प्रधानमन्त्रीले नेपाली राजनीतिक दलहरुलाई गुटकोरुपमा भेटनु दुर्नियतको उदाहरण भएको उनको भनाइ छ । लुम्बिनी र जनकपुर जाने भन्दै आफै प्रचार गरेका मोदी त्यहाँ गएनन् तर कुनै प्रचार नै नगरेका श्रीलंकाली राष्ट्रपतिले लुम्बिनीको भ्रमणमात्र गरेनन् त्यहाँको विकाशमा सहयोगका लागि तत्पर रहेको जनाउ समेत दिए ।
नारायणकाजी, शंकर पोखरेज, गगन थापा र चन्द्र भण्डारीको विरोध
मोदीले गरेको भाषणप्रति पार्टीका मुख्य नेताहरुको कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन तर उनको अभिब्यक्तिप्रति सत्तारुढ र विपक्षी दुवै दलका नेताले आपत्ति भने जनाएका छन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिले नेपालको आन्तिरक मामलामा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् भने कांग्रेसका युवा नेता गगन थापाले पनि विविसीसँगको कुराकानीमा घुमाउरो शैलीमा मोदीको भनाइप्रति आपत्ति प्रकट गरे ।
मोदीलाई भेट्न पुगेका एमाओवादी नेताहरु
नारायणकाजीले आफूहरुसँगको भेटमा पनि मोदीले सार्क सम्मेलन वा दुईपक्षीय विषमयमा चासो नै नदिएको तर नेपाली आन्तरिक राजनीतिमा मात्र चासो देखाएको भन्दै असन्तुष्टी जनाए । भारतप्रति नरम मानिने गगन थापाले पनि मित्र राष्ट्रको सरकार प्रमुखका हैसियतमा मोदीको सदिक्षालाई सकारात्मक रुपमा लिन सकिए पनि हस्तक्षेप भने स्वीकार गर्न नकिने बताए । अझ गगन थापाले काँग्रेस–एमालेको साझा प्रस्ताव संविधानसभामा लानुपर्ने अडानमा नटिक्ने र विपक्षीले मोदीकै आडमा आफूहरुले भनेकै कुरा हुनुपर्छ भन्ने अडान राखिरहे संविधानसभालाई सार्वभौम मान्न नसकिने बताएका छन् ।
त्यसैगरी एमाले सचिव शंकर पोखरेलले पनि मोदीको भनाइप्रति आपत्ति जनाएका छन् । फेसबुक स्ट्याटसमा पोखरेल भन्छन् -‘संविधानसभाको वर्तमान संरचनाभित्र पूर्ण सहमतिको कुरा गर्नु आशिकले पे्रमिकालाई जुनतारा झारी दिउँला भन्नु उस्तै उस्तै हो । सुन्दा राम्रो लाग्छ,’ ।
त्यसैगरी कांग्रेस युवा नेता एवं सभाषद चन्द्र भण्डारीले मोदीको भनाइप्रति असहमति दर्ज गरेका छन् । फेसबुकमा ‘संविधान निर्माण गर्दा सबै वर्ग समुह र क्षेत्रका व्यक्तिको अपनत्व हुनु पर्दछ । नेपाली भूमिमा संविधान र्निमाणका चुनौती मोदीजीलाई अवगत नै छ ।’ भन्ने स्ट्याटस लेखेका उनले घुमाउरो शैलीमा मोदीको भनाइप्रति आपत्ति जनाएका हुन् ।
मोदीको बोलीः संविधान नबन्ने संकेत
भारतीय प्रधानमन्त्री मोदीको भाषणले नेपालमा संविधान सभाबाट संविधान बन्नै सक्दैन भनेर दावी गर्नेहरुलाई थप बल पुर्याएको छ । मोदीले भनेको जस्तो सहमति कांग्रेस एमाले मात्र होइन एमाओवादी समेत सोही कित्तमा गए पनि संविधानसभामा जुट्न नसक्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । मोदीले स्पष्ट भनेका छन् ‘कुनै पहाडियालाई मलाई कस्ले खोजि गर्छ भन्ने नलागोस’ ‘कुनै मधेशीलाई मलाई कस्ले खोजि गर्छ भन्ने नलागोस’ ‘माओवादीलाई कस्ले खोजि गर्छ भन्ने नलागोस’ । अर्थात सर्वसम्मत संविधान बनाउनुस् नत्र संकट आउँछ । मोदीले भनेको जस्तो आदर्श अवस्था नेपालमा आउन संभव नै छैन भन्ने कुरा २ पटक सम्म भएका संविधानसभाका निर्वाचन र त्यसमा बनेका समिकरणले पुष्टी गरिसकेको छ । मोदीले भनेको जस्तो सर्वसम्मत संविधान कि संघीयता नै नभएको हुन्छ कि त जारी नै हुन सक्दैन । मोदीले नेपाली संविधान निर्माणको सबैभन्दा विवादित चुरो प्रक्रिया वा सहमति भन्ने विषयमा खुलारुपमा धावा बोलेर संविधान निर्माणमा संविधान सभाको भन्दा पनि भारतको सहमति चाहिने डरलाग्दो संकेत समेत गरेका छन् ।
राकेश सुदको आक्रामक लेख
मोदीको पछिल्लो भाषण र नेपालमा आक्रामक र हस्तक्षेपकारी राजदुतको छवि बनाएका राकेश सुदले केही दिन अघि भारतीय पत्रिका ‘द हिन्दू’ मा लेखेको लेखबीच सम्बन्ध देख्नेहरु पनि छन् । नेपाली राजनीतिमा देखिएको जटिलता भनेको भारतको आफ्नै समस्या हो जस्तो गरि उनले त्यो लेखमा नेपालमा भारतलाई हस्तक्षेपका लागि नै बोलाइने र आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाइने टिप्पणी गरेका छन् । राकेश सुदले मोदीले लुम्बिनी र जनकपुरको भ्रमण नेपाली नेताको लघुताभाषका कारण रद्ध गर्नु परेको समेत संकेत गरेका थिए उक्त लेखमा । सुदले उक्त लेखमा संविधान निर्माण बहुमतमा भन्दा सहमतिमा गर्नु पर्ने आशय ब्यक्त समेत गरेका थिए जुन ठ्याक्कै मोदीको भाषणसँग मिल्दो जुल्दो छ ।
यो पनि हेर्नुस्
सार्क सम्मेलनः मोदीका कारण पसिना काड्दै सरकार
पाकिस्तानकी सुन्दरी नेतृले मोदीबारे गरिन् कडा टिप्पणी
पाकिस्तानी प्रधानमन्त्री शर्रिफले मोदीलाई दिए कडा जवाफ