२१ मङ्सिर, काठमाडौं ।
मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले सार्वजनिक गरेको संघीयताको खाकाबारे अन्यौल देखिएको भन्दै स्पष्टीकरण दिएका छन् ।
यस्तो छ उनको स्पष्टिकरणः
९ प्रदेशको अवधारणाबारे….
मधेसी जनअधिकार फोरम, नेपालले हालै सार्वजनिक गरेको ९ प्रदेशको संघीय अवधारणाबारे मधेश केन्द्रीत दल र कतिपय संचारमाध्यममा केही अन्यौलता देखिएकोले सो अन्यौलता, भ्रम चिर्न र त्यसबारे प्रष्ट पार्न आवश्यक देखिएको छ ।
फोरम नेपालले संघीयता र राज्य पुनर्संरचना अन्तर्गत प्रदेशहरुको निर्माण समग्र मधेश एक प्रदेश अर्थात स्वायत्त मधेश प्रदेशसहित ९ वटा प्रदेशको अवधारणा सार्वजनिक गरी राजनैतिक संवैधानिक संवाद तथा सहमति समितिमा पेश गरिसकेको छ । जसमा राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, स्थानीय निकाय र प्रदेशहरुको सीमांकन तथा प्रदेशहरुको राजधानीबारे आफ्नो अवधारणामा प्रष्ट रुपमा अगाडि सारेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले विगतमा भएका सहमतिहरुलाई मिच्दै त्यसको अवमूल्यन गरी गोजीबाट ७ प्रदेशको तथाकथित खाका ल्याएर भ्रम फैलाइरहेको र स्वायत्त मधेश लगायतका अन्य प्रदेशहरुको सुनिश्चितता समेत नरहेको संघीयता लगायतका बिषय गौढ राखी बहुमतको दम्भमा अगाडि बढ्न खोजिररहेका छन् । यसका साथै कांग्रेस र एमाले षड्यन्त्रलाई चिर्न फोरम नेपालले शोषण, उत्पीडन र उपनिवेशको शिकार रहेका संघीयता र अधिकार पक्षधरहरुको आवाज बनेर ल्याएको अवधारणाप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र पनि कुनै अन्यौलता नरहोस भनि प्रष्ट पार्न चाहन्छौं ।
मधेशी मोर्चामा आवद्ध रहेका मधेश केन्द्रीत दलहरुले आ–आफ्नो दलगत अवधारणा सार्वजनिक गरेर वा मोर्चाभित्रै छलफल गरी सहमति जुटाउन फोरम तयार छ । यद्यपी, मोर्चाबाट साझा अवधारणा प्रस्तुत गरिरहदाा विगतको मधेश जनविद्रोह, सरकारसंग भएका सहमति सम्झौता, मधेश र मधेशी जनताको चाहना र मधेश जनविद्रोहका शहीदहरुको भावनालाई समेटेर अधिकार र पहिचानसहितको समग्र देशलाई कति र कुन–कुन प्रदेश नामांकन सीमांकन सहित ल्याउने हो भन्ने हेक्का राख्न जरुरी छ । यसमा फोरम नेपाल प्रतिवद्ध छ ।
तसर्थ, हाल फोरम नेपालले यिनै अन्यौलता, खासगरि कांग्रेस र एमालेको भ्रामक प्रचारलाई चिर्न र मधेशी जनताको तर्फबाट खबरदारी र सुनिश्चितता प्रदान गर्ने कार्य गरेको छ । यसका साथै फोरम नेपाल जनतालाई स्वायत्त मधेश प्रदेशसहितको संघीयता, पहिचान र अधिकार दिलाउनका लागि हिजो पनि प्रतिबद्ध थियो र आज पनि सो अडानमा प्रतिबद्ध रहेको प्रष्ट पार्न चाहन्छौं ।