के हो त ब्लड प्रेसर(Blood Pressure)?
यो प्रश्न धेरैको मनमा खड्किरहन्छ र यो के हो भनेर थाहा हुँदाहुँदै पनि धेरैलाई ब्लड प्रेसरले सताइरहेको हुन्छ।
वास्तवमा ब्लड प्रेसर आफै समस्या होइन यो त हाम्रो मुटु धड्किरहँदा रगतले ब्लड भेसल (Blood Vessel)को भित्तामा दिएको दबाव हो।
तर यहि प्रक्रिया कतिबेला खतरा हुन्छ त भन्दा जब रगतले दिने दबाव चाहिने भन्दा बढि अथवा कम हुन्छ।
एउटा व्यक्तिको ब्लड प्रेसर विशेष गरी सिस्टोलिक प्रेसर र डायसटोलिक प्रेसरले निर्धारण गर्दछ र यसलाई एम्.एम. एच्. जी. (mm Hg) मा नापिने गरिन्छ।
एउटा प्रौढ व्यक्ति आराम गरिरहेको बेला उसको सामान्य ब्लड प्रेसर लगभग १२०/८० mmHg हुने गर्दछ। ब्लड भेसलमा रगतले दिने दबावको आधारमा ब्लड प्रेसरलाई दुई भागमा विभाजन गरिन्छ।
१. हाइपोटेन्सन (Hypotension)
सामान्यतया हाइपोटेन्सनलाई ‘कम रक्तचाप’ (Low Blood Pressure) पनि भन्ने गरिन्छ। जब धमनी (Arteries)मा रगतले दिने दबाव कम हुन्छ अर्थात सिस्टोलिक प्रेसर ९०mmHg भन्दा कम र डायसटोलिक प्रेसर ६०mmHg भन्दा कम हुन्छ तब त्यो स्थितीलाई ‘लो ब्लड प्रेसर’ भनिन्छ।
खासमा यो रोग नभई केवल शारीरिक स्थिती हो जुन विशेषतः मानिसलाई आघात (Shock) परेको बेला अधिकतम हुने गर्दछ।
केहि लक्षणहरू यस प्रकार रहेका छन्ः
- छाती दुख्ने
- छोटो सास फेर्ने
- मुटुको धड्कन अनियमित हुने
- १०१° भन्दा धेरै ज्वरो आउनु
- घाँटीको मांशपेसी दुख्नु
- अपच्य हुनु
- औषधी खाएपछि वान्ता हुनु
- बेहोस हुनु
- आँखा तिर्मिराउनु, आदि।
वंशाणुको कारणले पनि कम रक्तचाप हुने गरेको पाइन्छ। यसको प्रमुख कारण भने शरीरमा रगतको मात्रा कम हुने वा ब्लड भेसलको आकार ठूलो हुँदै जानु हो।
केहि कारणहरू यस प्रकार रहेका छन्।
- पानी थोरै खाँदा
- धेरै गर्मी भएको ठाउँमा बस्दा
- कहिलेकाहिँ धेरै मात्रामा वान्ता अथवा झाडापखाला हुँदा
- कुनै कुनै औषधीको साइड-इफेक्टले गर्दा
- मुटु रोगीहरूलाई पनि धेरै जसो प्रेसरको समस्या हुन सक्छ।
- मधमेह हुनेहरूलाई पनि कम रक्तचाप हुने गर्दछ।
कम रक्तचापको नियन्त्रण गर्ने उपाय यसको कारणमा भर पर्दछ। खाने कुरामा नुनको मात्रा बढाएर पनि सामान्य रूपमा यसको नियन्त्रण गर्न सकिन्छ। बिहानपख कफी खाँदा पनि कम रक्तचापले दुख दिँदैन।
प्रेसरको बिरामीहरूले विशेष गरी खानेकुरामा चाहिँ ध्यान दिनुपर्दछ। अलिकति पनि हेलचेक्र्याइँ गर्यो भने यसले ठूलो रूप लिन सक्छ। त्यसैले कम रक्तचाप भएकाहरूले निम्न खाने कुराहरू खाँदा धेरै राम्रो हुन्छ।
- कम-चिल्लोपना भएको दूध
- साग
- सूर्यमुखी फूलको दाना
- गेडागुडी
- सेतो आलु
- केरा
- सोयाबिन
- चकलेट
रक्तचाप भएकाहरूले नियमित रूपमा व्यायाम पनि गर्नुपर्दछ र शरीरको तौलमा पनि ध्यान दिनुपर्दछ। जाँड-रक्सी अथवा चुरोट-सुर्ती खानुहुन्छ भने यसलाई त्याग्दा नै राम्रो हुन्छ।
२. हाइपरटेन्सन (Hypertension)
हाइपरटेन्सन अथवा उच्च रक्तचाप भन्नाले रगतको दबाव बढ्नु हो। मुटुको धमनीको आकार सानो भएर, ब्लड भेसलको आकार सानो भएर उच्च रक्तचाप हुने गर्दछ।
रक्तचाप १४०/९० mmHg भन्दा बढी भयो भने त्यस्तो अवस्थालाई उच्च रक्तचाप भएको मानिन्छ।
हाइपरटेन्सनले गर्दा मुटुमा तनाव बढ्न जान्छ र यसले गर्दा मुटु रोग लाग्ने सम्भावना हुन्छ।
गर्भवती भएका महिलाहरूलाई पनि उच्च रक्तचापले सताउने गरेको पाइन्छ।
केहि सामान्य कारणहरू यसप्रकार रहेका छन्।
- धुम्रपान गर्दा
- तौल धेरै हुँदा
- शारीरिक व्यायाम कम गर्नेहरूलाई उच्च रक्तचापले सताउन सक्छ।
- धेरै नुन भएको खाने कुराहरू खाँदा
- धेरै चिन्ता लिँदा
- वंशाणुगत कारणले गर्दा पनि यो समस्याले सताउने गर्दछ।
- मृगौलाको समस्या हुँदा
उच्च रक्तचापलाई कसरी नियन्त्रण गर्ने?
- नुन कम नै खानुहोला।
- शारीरिक व्यायाम नियमिन गर्नुहोला।
- आफ्नो स्वास्थ्य जाँच अनिवार्य गर्नुपर्दछ।
- आफ्नो तौलमा पनि ध्यान दिनुहोला।
- स्वस्थ खानेकुराहरू खानुहोला।
उच्च रक्तचाप भएकाहरूले निम्न खानेकुराहरू नियमित खाँदा राम्रो हुन्छ।
- फलफूल
- सागपात
- रातो आलु
- रातो मुला
- आँटा
- बन-केरा अथवा सामान्य केरा
निम्न खानेकुराहरूलाई नजरबाट टाढै राख्नुहोला
- मासु
- अण्डा
- माछा
- दाल
- चाउचाउ
- सुकेको फलफूल (किसमिस, बदाम,आदि)
- बटर
- भुटेको मकै
- केचअप
- बासी खाना
उच्च होस् या कम रक्तचाप, बेलैमा स्वास्थ्य जाँच नगरी त्यसको नियन्त्रण गर्नुभएन भने त्यसले भयङ्कर रूप लिएर मुटुलाई असर गरी मृत्यु पनि गराउन सक्छ। त्यसैले रक्तचाप हुने व्यक्तिहरूले आफ्नो दैनिकी पद्धतिमा परिवर्तन ल्याउनु जरुरी हुन्छ।