११ फागुन, काठमाडौं ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० दलले अहिले गरिरहेको आन्दोलनलाई राष्ट्रपतिको पद पाउन गरेको वार्गेनिङका रुपमा नबुझ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

prachanda aggressive mood

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार ललितपुरको खन्ना गार्मेण्टमा गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सेरेमोनियल राष्ट्रपति बन्ने आफ्नो कुनै इच्छा नभएको बताए ।

उनले सेरेमोनियल राष्ट्रपतिलाई खोपीको देवता संज्ञा दिदै आफ्ना लागि खोपीको देवताभन्दा आन्दोलन नै बढी प्यारो भएको बताए । प्रचण्डले कार्यकारी राष्ट्रपति बन्न भने आफू इच्छुक रहेको तर अहिले त्यस्तो शासकीय व्यवस्था सम्भव नै नरहेको बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले ३० दलीय मोर्चाले अहिले गरिरहेको आन्दोलनलाई रक्तपातविहिन युद्ध भन्दै युद्धमा सेनाको भूमिकामा प्रस्तुत हुन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले काँग्रेस एमालेको वहुमतीय प्रक्रिया आन्दोलनबाटै रोक्ने चेतानी समेत दिए । एमाओवादी अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेलाई पार्टीले आवश्यकताभन्दा बढी विश्वास गरेका कारण जनयुद्धका उपलब्धिको रक्षाका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

प्रशिक्षण कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमकट्टेलले पार्टीले गरिरहेको आन्दोलनलाई प्रभावकारी बनाउन भूमिका नखेल्ने कार्यकर्तालाई जागिर र संगठनबाट निष्काशन गर्ने चेतावनी दिए ।

 

यो पनि हेर्नुस् 

मलाई ज्यानको खतरा छः प्रचण्ड

‘ज्यानको खतरा छ’ भन्ने प्रचण्डलाई सरकारको जवाफ (विज्ञप्ति सहित)