२६, फागुन, रुपन्देही । 

रुपन्देहीको मणिग्राममा रहेको एक मोबाइल पसलमा चोरी गर्न खोज्ने दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

अमर म्युजिक एन्ड मोबाइल सर्भिस सेन्टरमा गएराति करिब २ बजे सतरमा लगाइएको ताला फोडेर पसल चोरी गर्न खोज्दै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक महाराजगन्ज जिल्ला सुनौली, ठाना बस्ने २८ वर्षीय राजु लोध र रुपन्देही सिनपा–६ गल्लामण्डी बस्ने अबिर आलमलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रमुख प्रहरीनायब निरीक्षक शिवकुमार वलीको नेतृत्वमा गएको गस्ती टोलीले सटरको ताला फोड्दै गरेको अवस्थामा उनीहरुलाई घरेलु हतियार रड र ताला तोड्न प्रयोग गरिने सामग्रीसहित पक्राउ गरेको हो ।

चोरीमा संलग्न दुवै जनालाई मुद्दा चलाएर अनुसन्धान सुरु गरिसकेको प्रहरीनायब निरीक्षक वलीले जानकारी दिए ।