१९ जेठ, काठमाडौं ।

लगातार संसद बैठक अबरुद्ध गर्दे आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रधानमन्त्री चुनावको कार्यतालिका प्रकाशन कार्य प्रभावित भएको छ । भरतपुरमा मतगणना स्थगित भएदेखि नै संसद अवरोध गर्दै आएको एमालेका कारण प्रधानमन्त्री चुनावका लागि कार्यतालिकाको प्रकृया नै प्रभावित भएको हो ।

सभामुख ओनसरी घर्तीले संसदमा रहेको अवरोध हटाउने र प्रधानमन्त्रीको चुनाव गराउने विषयको छलफलका लागि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले अवराेध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री चयन गर्ने कार्यतालिका बन्न सकेन ।

कार्यव्यबस्थामा सहमति नजुटेपछि सभामुख अाेनसरी घर्तीले यस बिषयमा प्रमुख दलका शिर्ष नेताबिच छलफलको तयारी गरेकी छन् ।

संसद्ले आगामी २१ गते प्रधानमन्त्री निर्वाचन गराउन कार्यतालिका प्रकाशनको तयारी गरेको थियो । बैठकपछि एमाले सांसद् राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको जानकारी दिए ।

उनले संसद् बैठकमा अवरोध भइरहेका बेला प्रधानमन्त्री चुनावकै लागि मात्र खोल्न नहुने बताए । माओवादी सांसद् रामनारायण बिडारीले राष्ट्रपतिले पठाएको पत्रको अवज्ञा गर्न नहुने भन्दै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउनुर्ने बताए ।

उनले संसदले तयारी गरेको कार्यतालिका अनुसार २१ गते हुने प्रधानमन्त्री चुनावको दिन संसद् अवरोध नगर्नका लागि शीर्ष तहमा छलफल गर्नुपर्ने भन्दै त्यसमा सभामुखले समन्वय गर्नुपर्ने बताए ।