२१ असोज, मुम्वई । व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण ६९ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

शाहको उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलीभिजन संस्थान (एफ्टिआईआई) मा सिनेमा निर्देशन सम्बन्धि अध्ययन गरेका थिए र सन् १९८३ मा जाने भी दा यारा नामको सिनेमाबाट निर्देशनको यात्रा तय गरेका थिए ।

उनले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, इन्दिरा गान्धी पुरस्कार, प्राप्त गरेका थिए । तर सन् २०१५ मा एफ्टिआईआईमा विद्यार्थीले गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउदै उक्त पुरस्कार फिर्ता गरेका थिए । शाहले सन् १९८६ मा ‘नुक्कड’ नामक हिन्दी धारावाहिक टेलीश्रृङ्खलामा प्रवेश गरेका थिए ।

सन् १९८८ मा प्रसिद्ध हाँस्य टेलिश्रृङ्खला ‘वागले कि दुनियाँ’ को निर्देशन गरेका थिए । उक्त सिनेमा व्यङ्ग्य चित्रकार आर के लक्ष्मणको आम आदमीको चरित्रमा निर्माण गरिएको थियो ।

उनी भारतीय सिने क्षेत्रमा १९९३ मा शाहरुख खानद्वारा अभिनित ‘कभि हाँ कभि ना’ सँगै पुन देखिएका थिए ।
उनको प्रीति जिन्टा तथा सैफ अलिद्वारा अभिनित सिनेमा ‘क्या कहना’ निकै सफल चलचित्र हो । यसका अलावा उनले केही अरु सिनेमाको निर्देशन गरेपनि ति सिनेमाबाट व्यवसायिक सफलता भने मिलेको थिएन ।