२९ पुस, काठमाडौं । सार्वजनिक गाडीभित्र हस्तमैथुन गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको तत्कालीन अरुणोदय गाविस घर भएर हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल रहेका छन् ।

विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गएको वर्ष साउनमा खिचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारबाहीका लागि काठमाण्डौ ल्याएको थियो । ‘पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मेहनत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ’ महाशाखा प्रमुख सहकुलबहादुर थापाले भने ।

घटना भएको समयभन्दा तीन वर्षअघिदेखि उनी काठमाण्डौ बस्दै आएका थिए । त्यो बेला उनले रिक्सा चलाउँथे । घटनाको केही समयपछि प्रहरीबाट बच्न उनी भारत गएका थिए । लामो समयसम्म प्रहरीले युवकको पहिचान गर्न सकेको थिएन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)पनि घटनाको अनुसन्धानमा लागेको थियो । घटनाको केही समयपछि प्रहरीले गाडी भने काठमाण्डौको ढल्कुमा फेला पारे पनि तथ्य पत्ता लगाएको थिएन ।

घटना सामसुम भएको ठानेर उनी तीन महिनाअघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ। उनले घटनासँग सम्बन्धित विषय फेसबुकमा समेत सन्देश पोष्ट गरेको प्रहरीले जनाएको छ । पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।