५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । अब परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो ।

यसअघि बुधबार दिउँसै समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्न क्लब स्वीमङपुललगायतका मनोरञ्जनस्थलहरु बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । बैठकले अत्यावश्यक नभई आवतजावत र हिँडडुल बन्द गर्न आग्रह गरेको थियो ।

साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिस भेला हुन पनि रोक लगाइएको छ । यसको अनुगमन प्रदेश सरकार र स्थानीय तहले गर्नेछ ।

सरकारले युरोपका सबै, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुक इरान टर्की, मलेसिया, दक्षिण्कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्यरातिदेखि लागू हुनेगरी १५ अप्रिल अर्थात ३ बैशाखसम्म आगमनमा प्रतिबन्ध लगाएको छ ।