५ फागुन, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । सोमबार काठमाडौंमा चलचित्र निमार्ण टीम र अस्ट्रेलिया अधिकार किन्ने बाबा एजुकेसन कन्सल्टेन्सीबीच भएको हो ।

सम्झौतापत्रमा चलचित्रको तर्फबाट निर्माता अर्जुन कुमार र बाबा एकुकेसन कसल्टेन्सीको तर्फबाट प्रमुख रविन्द्र कुमार शर्माले हस्ताक्षर गरेका हुन् । बाबा एजुकेसन कन्सल्टेन्सीले चलचित्र ‘चपली हाइट ३’ २५ हजार अमेरिकी डलर अर्थात १९ लाख नेपाली रुपैयाँमा किनेको हो ।

निकेश खड्काको निर्देशक रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको मुख्य भुमिका रहनेछ । आउँदो चैत २८ गते रिलिज मिति तोकिएको फिल्मको कथामा सस्पेन्स र थ्रिलर बिषय उठाइएको निर्माता कुमारले जानकारी दिए ।

‘चपली हाइट’को अघिल्ला दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड दृश्यका कारण उनको ब्यापक चर्चा भएको थियो ।