३० असोज, काठमाडौं । चर्चित गायन रियालिटी शाे ‘द भ्वाइस’को नेपाली संस्करण ‘भ्वाइस अफ नेपाल’ले राम्रो लोकप्रियता पाइरहेकाे छ । दर्शकले पहिलो सिजन भन्दा दोस्रो सिजनलाई बढी रुचाएका छन् ।

खासगरि शोमा काेचका कमेन्ट र ब्लाइन्ड अडिसनले दर्शकको मन जितेको देखियाे । ब्लाइन्ड अडिसनमा कुन काेच फर्कन्छन्, कुन फर्कँदैनन् भन्ने कौतुहलताका कारण पनि यस राउण्डलाई मनपराइएको हुनसक्ने कार्यक्रम निर्माण टीमको भनाइ छ ।

शोका काेचहरुको कमेन्ट, हाउभाउ देखि उनीहरुको व्यक्तित्वले दर्शकहरुलाई निकै प्रभाव पार्ने गर्छ । शोमा आएका प्रतियोगी मात्र होइन, काेचका विषयमा पनि सामाजिक सञ्जालमा गतिलै चर्चा हुने गरेको पाइन्छ । 

judges of voice of nepal

यो सिजनमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत गरी चार जना काेच छन् । दीप श्रेष्ठ र प्रमोद खरेल पहिलो सिजनदेखिनै काेचकाे रुपमा थिए । राजु लामा र आस्था राउत भने दाेस्राे सिजनमा काेचकाे रुपमा आएका छन् ।

कुन जज कस्ता ? कस्तो छ दर्शकको आम बुझाइ ?
दीप श्रेष्ठः दीप श्रेष्ठ भ्वाइसका कोचमध्ये सबैभन्दा अनुभवी र पाका कोच हुन् । उनको स्वभाव सिधा कुरा गर्न रुचाउने, खस्रा कमेन्ट गर्नपनि पछि नपर्ने किसिमको छ ।

उनको व्यक्तित्व पनि गम्भीर र विश्वसनीय देखिन्छ । उनलाई शोमा आउने प्रतियोगी मात्रै होइन उनीसंगै काेच प्यानलमा रहेका अरुले पनि उत्तिकै सम्मान र आदार गर्छन् । 

deep shrestha- voice of nepal judge

भ्वाइस अफ नेपालको पहिलो सिजनका बिजेता बनेका सिडी विजय अधिकारी काेच दीपकै टीममा थिए । पहिलाे सिजनमा आफ्नाे टीमबाट विजयी बनेपछि उनको प्रभाव र रवाफ शो भित्र र बाहिर उतिकै राम्रो छ । 

कमेन्ट गर्दा समेत श्रेष्ठ साना साना टेक्निकल डिटेल केलाएर गर्न सक्दछन् । उनको व्यक्तित्व र हाउभाउमा उनको क्षमता र अनुभव दुवै झल्किन्छ। 

प्रमोद खरेल: प्रमोद खरेलको दीप श्रेष्ठ संगै पहिलो सिजन देखिनै भ्वाइस अफ नेपालको जज रहेका छन् । उनी शोका प्रतियोगीद्धारा सवैभन्दा रुचाइएका जज हुन् भन्दा फरक पर्दैन ।

pramod kharel- voice of nepal judge

उनको बोल्ने कला विलक्षण छ । उनी राम्रो कमेन्ट गरेरै ब्लाइन्ड अडिसनबाट राम्रा प्रतियोगी आफूतिर तान्न सक्षम सफल मानिन्छन् । प्रमोद जति मिठो गीत गाउँछन् त्यतिनै राम्रो अभिनय समेत गर्दछन् । उनले आफ्नो मिमिक्री गर्ने कला शोमा देखाइपनि सकेका छन् ।

प्रमोद पनि गायकको विषयमा गहिराइमा गएर कमेन्ट गर्ने क्षमता राख्दछन् । उनी हरेक जनाराका गीतकाे विषयमा बोल्ले र आफुलाई भर्सटाइल जजका रुपमा स्थापित गर्न सफल छन् ।

प्रमोदको अर्को पाटो उनको स्टाइलिस लुक पनि पनि हो । उनी खासगरि कपालको लुक्समा विभिन्न प्रयाेग गर्न रुचाउँछन् ।

राजु लामा: मिठो स्वरका धनी राजु लामा भ्वाइस अफ नेपालको दोश्रो सिजनदेखि कोचमा जोडिएका हुन् । मिठो बोली र मुस्कानका कारण उनी धेरै प्रतिस्पर्धीलाई आफ्नो टीममा तान्न सफल छन् । उनी सबैलाई खुसी बनाएर बोल्न माहिर छन् ।

raju lama- voice of nepal judge

सधै मुस्कुराइ रहने राजु कडा कमेन्टहरु गर्छन् । उनी गीतै गाएर प्रतियोगीलाई आफू तिर तान्न सक्ने काेच हुन् । राजु लामाका कहिलेकाँही बाेल्न कन्जुस्याँई गर्छन् जसको भर्पाइको उनको मुस्कान गरेको हुन्छ ।

आस्था राउत: राजु लामा जस्तै गायिका आस्था राउत पनि भ्वाइस अफ नेपालको दोश्रो सिजनबाट नै कोचमा बनेकी हुन् । एकमात्र महिला कोचको भूमिकामा रहेकी उनी कुनै महिला गीत गाउनमा आएमा ‘लेडिज पावर’ भन्दै आफूतिर तान्न खोज्छिन् ।

aastha raut-voice of nepal judge

बाेल्न नडराउने उनी उनी शोमा खुलेरै महिला प्रतियोगीको पक्षमा वकालत गर्छिन् । उनी जति हक्की स्वभावकी देखिन्छिन् त्यतिनै भावुक समेत छिन् । आस्थाले आफूलाइ जजका रुपमा निरन्तरत परिष्कृत गर्दै लगेको पनि देखिन्छ । उनी प्राय:जसाे कमेन्ट गर्दा उठेर गर्नेगर्छिन् ।

काेच दीप श्रेष्ठले आस्थाले राम्रो कोचिङ गरेको भन्दै दुई पटक सम्म प्रशंसा गरिसकेका छन् ।