काठमाडौं ।

एमाओवादीका नेता डा बाबुराम भट्टराइ संविधानसभाबाट संविधान जारी गर्नका लागि सबैभन्दा बढि खटिएका नेता हुन् । संविधानको महत्वपूर्ण राजनीतिक संवाद तथा सहमति समितिमा बसेर अधिकाँश असन्तुष्टी र विवाद मिलाउन उनले महत्वपूर्ण भूमिका निर्भाह गरे । उनी शुरु देखि नै यस पटक संविधान जारी गरेरै छोड्नु पर्छ भनेर लाग्ने एमाओवादीका एक मात्र नेता पनि हुन् । अध्यक्ष प्रचण्ड आक्रामक हुँदा पनि बाबुरामले संविधान जारी गर्नै पर्नेमा जोड दिइरहेका थिए ।

किन लेखेनन् बाबुरामले खुसीको स्ट्याटस

आफू प्रधानमन्त्री भएको समयमा पहिलो संविधानसभा विघटन भएर दोश्रो संविधानसभाबाट संविधान पारित हुने स्थिति आउँदासम्म तिनै आशावादी बाबुराम निराश देखिएका छन् । संविधान जारी हुने समयमा मधेश लगायत विभिन्न भागमा देखिएका असन्तुष्टीलाइ सम्बोधन गर्नु पर्ने उनको मागलाई आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नसुनेपछि उनी निराश बनेको देखिएको छ । सँधै राजनीतिक सहमतिका जानकारी र अन्य कुराहरुमा उत्साहजनक फेसबुक स्ट्याटस राख्ने एमाओवादी बाबुराम भट्टराईले संविधानसभाबाट संविधान पारित भएपछि भने कुनै उत्साह देखाएनन् ।

‘दीपावली गर्ने बेला भएको छैन’
संविधानमा पारित गर्दा देखि हस्ताक्षर गर्ने समयमा पनि शीर्ष नेताहरुसँग नदेखिएका बाबुराम अध्यक्ष प्रचण्ड सहितका नेताले विशेष पत्रकार सम्मेलन गरिरहँदा शनिबार काभ्रे पुगेर धुर्मुस सुन्तलीले बनाएको भूकम्प पीडितको नयाँ बस्ति अवलोकन गर्दै थिए । उनले त्यहाँ भने- यो संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, म यसबाट सन्तुष्ट छु । मेरो एउटै मात्र आग्रह के हो भने हाम्रा सबै क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरुलाई पनि समेटेर लानुपर्छ । उहाँहरुको पनि संविधानमा स्वामित्व भएन भने भोलि विग्रहको विऊ रोपिन सक्छ । यो बारेमा चाहिँ मैलै अझै पनि सतर्क गराउन चाहन्छु ।’

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (1)

बाबुरामले सञ्चारकर्मीसँग भने, ‘पहिलो संविधानसभाबाट संविधान बनाउन नसके पनि त्यसबाट पाठ सिक्दै दोस्रो संविधानसभाबाट हामीले संविधान बनाएका छौं । हिजो (शुक्रबार) सम्पूर्ण काम सम्पन्न भएको छ र भोलि (आइतबार) औपचारिक ढंगले जारी हुन्छ । यो नेपाली युगीन परिवर्तनको संघार भएको हुनाले यसमा मलाई अत्यन्त गर्व र खुशीको अनुभुति छ’, । ‘तर यसको सँगसँगै म के पनि जोड्न चाहन्छु भने नेपालको एउटा ठूलो हिस्सा तराई–मधेश, थारु र जनजातिका कैयौं मुद्दाहरु सम्बोधन नभएको हुनाले त्यहाँ अहिले पनि असन्तुष्टि कायम छ । खासगरी तराई–मधेश अत्यन्त संवेदनशील क्षेत्र पनि हो । त्यहाँका जनतालाई पनि विश्वासमा लिएर हामीले संविधान बनाअवउन सक्नुपर्‍थ्यो तर त्यो गर्न सकेनौं । त्यसले गर्दा जुन असन्तुष्टि छ त्यो असन्तुष्टिलाई पनि छिटो सम्बोधन गर्‍यौं भने साँच्चै नै दिपावली गर्न लायक अवस्था आउँछ । अहिले नै बढी नाचगान गर्नु भन्दा पनि यसलाई सकारात्मक ढंगले लिँदै हाम्रा देशका सबै दाजुभाइ–दिदीबहिनीहरुको समर्थन जुटाएर सबैमा खुशीयाली आउने ढंगले लानुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले म मूल रुपमा खुशी छु तर आशिंक रुपमा चाहिँ अझै पनि नाचगान गर्ने बेला भइसकेको छैन भन्ने मेरो धारणा हो ।’

राष्ट्रपतिको बचाउ

बाबुरामले काभ्रेमा राष्ट्रपतिको पनि बचाउ गरे । आफू जस्तै संविधान जारी गर्ने कुरामा असन्तुष्ट रहेका राष्ट्रपतिको बचाउ बाबुरामले गर्नुले संविधान जारी गर्ने विषयमा उनी पार्टी अध्यक्ष वा अन्य नेता भन्दा राष्ट्रपतिसँग नजिक देखिएका छन् । काभ्रेबाट फर्किएका बाबुरामले संविधान जारी हुने दिन झनै निराशाजनक स्टेटस प्रकाशित गर्दै ‘नेपालमा देशभक्तको नियति काजी भीम मल्लकै जस्तो भइरहने हो त ?’ भनेर स्टेटससहित तस्विर राखे ।

baburam status

संविधान जारी हुनै लागेको समयमा आफूलाई काजी भीम मल्लासँग तुलना गर्दै बाबुरामले गरेको यो प्रश्नले वर्तमान प्रक्रियामा उनलाई कुन हद सम्म हिनताबोध गराइएको छ भन्ने पनि प्रष्ट मात्र भएको छैन उनले अव कुन बाटो लिनेछन् भन्ने प्रश्न पनि जन्माएको छ । विश्वास गरेका आफ्नै जेठान पर्ने राजाबाट मृत्यु दण्ड पाएका काजी भीम मल्लसँग तुलना गर्दै बाबुरामले आफू इमान्दार हूँदा हुँदै पनि दण्डित हुने मध्ये रहेको संकेत गरेका छन् ।

बाबुरामले काभ्रेमै भने– ‘इतिहासमा पनि काजी भीम मल्लदेखि लिएर भीमसेन थापा, बहादुर शाहदेखि लिएर जसले देशको निम्ति काम गरे तिनको बदनाम गरेर भौतिक ढंगले नै सफाया गर्ने हाम्रो प्रचलन नै हो । अलि सही विचार ल्याउँछ, दूरदर्शीपूर्ण कुरा राख्छ भने त्यसमा आहारिस र डाहा गर्ने र त्यसलाई वैचारिक ढंगले नसकेपछि मनगढन्ते फत्तुर लगाएर जनतामा भ्रम छर्ने काजी भीम मल्लदेखिको नै रोग हो । त्यसबाट मुक्त हुन नसक्नु हाम्रो राजनीतिक क्षेत्र र जनताको निम्ति बडो दूर्भाग्यको कुरा भएको छ ।’

अव के गर्लान बाबुराम ?
डा बाबुराम भट्टराई यस्ता ब्यक्तित्व हुन् जो ३९ बुँदे माग शेरबहादुर देउवालाई बुझाएर जनयुद्धमा गए, १० वर्षे जनयुद्धमा अनेक उतार चढाव ब्यहोरेर शान्ति पूर्ण प्रक्रियामा पार्टीलाई अवतरण गराउन महत्वपूर्ण भूमिका खेले । संविधानसभाको चुनावमा देशमै सबैभन्दा बढी मत प्राप्त गरेर विजयी मात्र भएनन् त्यही संविधानसभाबाट गणतन्त्र नेपालको प्रथम सरकारमा अर्थमन्त्री र गणतन्त्र स्थापनापछिको चौथो प्रधानमन्त्री पनि बने । तर जनयुद्ध देखि नै हाइ हाइ पाउने बाबुरामले अर्थमन्त्री हुँदा जस्तो हाइ हाइ प्रधानमन्त्री हुँदा पाएनन् ।

baburam speech on parliament

संविधान जारी हुनासाथ एमाओवादीमा प्रचण्ड बाबुरामको फुट हुने भविष्यवाणी धेरै अघी देखि हुँदै आएको थियो । अव संविधान जारी हुने समय सम्म आइपुग्दा उक्त भविष्यवाणी सत्य सावित हुने संकेत देखिएको छ । संविधान जारी गर्ने अन्तिम विन्दुमा आइपुग्दा उनी र प्रचण्डबीच तीव्र मतभेद देखिएको कुरा उनका भनाइबाट पुष्टी भएको छ । बाबुराम जति रिसाएपनि प्रचण्ड भने उत्साहित देखिँदै संविधान जारी गरेरै छाड्न लागिपरेको देख्दा दुवै नेता अव आ-आफ्नो बाटो हिँड्न तयार भएको जस्तो देखिएको छ । आफ्नै पार्टीले संविधान जारी भएको उपलक्ष्यमा दीपावली गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरिसकेको समयमा बाबुरामले मधेसी, थारु, जनजाति लगायतका असन्तुष्ट पक्षको माग सम्बोधन नगरी संविधान आएकोमा नाचगान र दीपावली मनाइहाल्नु नपर्ने तर्क गरे । संविधान आएकोमा दिपावली नै गर्नुपर्ने अवस्था नरहेको उनको भनाइले अव उनको सोच पार्टी लाइन भन्दा फरक रहेको पुष्टी भएको छ ।

बाबुरामले काभ्रेमा आफू अव राष्ट्रनिर्माणमा लाग्ने बताए । अवको मुख्यकाम देशको निर्माण र पुनःनिर्माण भएको भन्दै बाबुरामले अव आफु धेरै अगाडी देखि भन्दै आएको नयाँ राजनीतिक शक्ति निर्माणमा लाग्ने संकेत गरेका छन् । उनका भनाइले अव उनी वर्तमान प्रक्रिया र पार्टीमा असन्तुष्ट रहेको र फरक बाटो हिड्न चाहेको प्रष्ट संकेत गरेको छ ।

Ganga Shrestha status on constitution

बाबुराम निटकका नेता गंगा श्रेष्ठको स्टेटस

बाबुरामका सहयोगीहरुले पनि बाबुरामले लिएको लाइन समर्थन गर्न सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुले उनी पार्टीबाट अलग हुने चरणमा पुगेका हुन कि भन्ने अनुमान गर्नेहरुलाई बल पुगेको छ ।

काजीका पनि उस्तै कुरा 

यस पटक बाबुराम भट्टराईसँग कुरा मिल्नेमा उनीसँग सँधै फरक मतमा रहने एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई पनि देखिएका छन् । यस अघि बाबुरामका कुरा भन्दा फरक कुरा राखेर चर्चामा आउने नारायणकाजी यस पटक भने प्रचण्डको भन्दा फरक मत राखेर चर्चामा छन् ।

Baburam Narayan Kaji 1

उनले पनि बाबुरामले जस्तै अन्तिम सम्म मधेश र थारुको माग संवोधन नगरी नयाँ संविधाान जारी गर्न नहुनेमा जोड दिइरहेका थिए ।  समय समयमा घुर्क्याउने र चिसै पानीले नुहाएर शान्त हुने गरेका बाबुरामको पछिल्लो घुर्कीले कस्तो रुप लिनेछ भन्ने अनुमान गर्न कठिन छ । उनमा देखिएको निराशा कुन रुपमा प्रस्फूटित हुन्छ त्यो सकारात्मक हुन्छ वा नकारात्मक परिणाम दिने हुन्छ त्यो भने हेर्न बाँकि छ ।