१८ चैत, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयरले आफ्ना विभिन्न स्थानमा भएका घरमा लगाएको १ महिनाको घरभाडा नलिने भएका छन् ।

काठमाडौं, पोखरा र बागलुङमा रहेका घरहरुमा विभिन्न व्यवसाय सञ्चालन गरेका र घरभाडामा बस्नेहरुका लागि १ महिनाको घरभाडा छुट गर्न लागेको मेयर देव कुमार नेपालीले जानकारी दिए ।

मेयर नेपालीले एक स्टाटस लेख्दै व्यवसायीहरुले व्यवसाय गर्न नपाएको र घरभाडामा बस्नेहरुले पनि काम गर्न नपाएकोले उनीहरुलाई थोरै भएपनि सहयोग गर्ने उदेश्यले आफू र आफ्नी श्रीमती छिरिङ ह्याल्मो नेपालीले घरभाडा छुट दिने घोषणा गरेको जानकारी गराएका छन् ।

उनले काठमाडौंमा १०, पोखरामा ९ र बागलुङमा २ वटा संस्था एवं व्यक्तिहरुलाई १ महिनाको भाडा छुट दिएका हुन् । उनले १ महिनामा कुल ९ लाख ६५ हजार रुपैयाँको घरभाडा छुट दिन लागेका हुन् । उनले संकटको समयमा मानवताले एकअर्कालाई सहयोग गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।