१६ भदौ, मुगु । मुगुको सोरु गाउँपालिका वडा नं ६ की २२ वर्षीया जल रोकायाको सुत्केरी हुदाँ अत्याधिक रक्तश्रावका कारण मृत्यु भएपछि शिशुको बेहाल भएको छ ।

घरमै सुत्केरी भएर दुई छोरा जन्माएकी रोकायाको अत्याधिक रक्तश्रावका कारणले मृत्यु भएको थियो । घरमा नै सुत्केरी हुदाँ दुई छोरा जन्माएकी रोकायाको एक छोरासहित मृत्यु भएपछि बाँचेको एक छोराको बेहाल भएको मृतकका श्रीमान धनराज रोकायाले बताए ।

पहिलो सुत्केरी अवस्थामै औषधि उपचार नपाएर कलिलो उमेरमै जलको मृत्यु भएको छ । तीन दिनअघि सुत्केरी व्यथा लागेपछि उनलाई नार्थपु बर्थिङ सेन्टरमा लगिएको थियो ।

बर्थिङ सेन्टरमा जनशक्ति र उपकरणको अभावले सुत्केरी गराउन नसकेपछि उनलाई जिल्ला अस्पातलमा रिफर गरिएको थियो । बर्थिङ सेन्टरबाट अस्पताल लैजान घरमा ल्याएको बेला अकस्मात उनी सुत्केरी भएकी थिइन् ।