२० माघ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छन ।

जिपी कोइराला फाउन्डेसनद्वारा यहाँ आज आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा उनले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा सहज हुने विचार व्यक्त गरिन् ।

Sujata-Koirala closeup

नेत्री कोइरालाले अपराध गर्ने र तारोमा पर्नेमा युवा बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताइन ।

कार्यक्रममा साइबर अपराधका जानकार एवम् प्रहरी नायब उपरीक्षक पशुपति रायले साइबर अपराधसम्बन्धी विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराए । कसैलाई विश्वास गरेर सामाजिक सञ्जालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव उनले दिए ।

उनले अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिए । अनलाइनमार्फत चाइल्ड सेक्स टुरिज्मका सङ्गठित अपराधीले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकामा सचेत रहन उनले आग्रह गरे । कार्यक्रममा कामाद कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए । रासस