२६ जेठ, काठमाडौ ।

मेरा छोरा (कृष्णप्रसाद अधिकारी) को अपहरणपछि हत्या भएको ११ वर्ष पूरा भएर १२ लाग्यो । अपराधीले १६ वर्षे छोरालाई गोरखाको फुजेलबाट अपहरण गरेपछि ०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेका थिए ।

त्यसपछि अपराधीलाई कारबाही गर भन्दै न्याय मागेको १२ वर्ष भयो । उहिले ‘न्याय नपाए गोरखा जानु’ भन्थे, तर गोरखाकै मेरो परिवारले न्याय पाएन । छोराको हत्यारालाई कारबाही गर भनेर न्याय माग्दा मेरो श्रीमान् (नन्दप्रसाद) लाई सरकारले मार्‍यो । न्याय पाउँछु कि भनेर यतिका वर्ष बिताएँ, आफ्नो ज्यानै माया मारेर लडें । तर, न्यायालयबाटै न्याय नपाइने रहेछ । मेरो छोराको मुद्दामा लड्नेहरू दस पटकसम्म न्यायालय पुग्दा सुनुवाइ भएन भन्दै फर्किए ।

gangamaya-adhikari

सरकार र मानव अधिकारका मान्छेहरूले मलाई झुक्याई/झुक्याई जबर्जस्ती खुवाए । म पनि लाटी रहेछु । यिनीहरूको झूटो कुरा पत्याएर ०७१ कात्तिक २ मा झोल कुरा मात्र खाने सर्तमा अनशन तोडें । झन्डै एक वर्ष पानीसमेत नखाई न्यायका लागि दुवै जना लड्यौं । ३ सय ३३ दिनसम्म पानीसमेत नखाँदा सरकारले हेरेन । सरकारकै हेल्चेक्र्याइँले बूढाको सास गयो । बूढाको मृत्यु भएको नौ महिना बितिसक्यो तर सरकारले अहिलेसम्म कुनै पनि कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।

गत असोज ६ मा बूढाको मृत्यु भएपछि हत्यारालाई कारबाही, सुरक्षित बासस्थान, स्वास्थ्य उपचारको व्यवस्था, श्रीमान्को दाहसंस्कार गर्ने लगायत ५ बुँदे सम्झौता गरी शान्तिमन्त्री नरहरि आचार्य र मानव अधिकारका मान्छे आएर न्याय दिलाएरै छाड्छौं भन्दै जबर्जस्ती अनशन तोडाएका थिए । न्याय पाइन्छ कि, जेठो छोराको पनि प्रगति देख्न पाउँछु कि भनेर मैले पानी निलेकी थिएँ ।

लामो समयदेखि केही नखाएकाले शरीर पुरै सुकेर औषधिको सुई लगाउने नसासमेत नभेटिने अवस्था थियो । झोल कुराहरू खाएर औषधि उपचार गरेपछि केही बोल्न सक्ने भएँ ।

२ सय ५९ दिनदेखि मेरो बूढाको शव दाहसंस्कार हुन सकेको छैन । सरकारले सम्झौता गरेका कुनै पनि बुँदामा केही काम भएको छैन । अब म कसको आशा गरेर बस्नु ? अब न्याय देऊ भनेर कराउनुको कुनै अर्थ छैन । न्याय दिलाउन नसक्नेले बरु गोली ठोकेर मारिदिए हुन्छ । यसरी तड्पिनुपर्ने त थिएन । आफैले नजानेर तड्पिनु पर्‍यो ।

अहिले मलाई जति पीडा कसैलाई नहोला । छोरा मारियो, बूढा मारियो, एउटा बाँचेको छोरो (नूरप्रसाद) कहाँ छ, केही पत्तो छैन । छोरो भेट्न नआएको गत चैतमा एक वर्ष भयो । अब धेरै तड्पेर बाँच्नु नपरोस् । बरु मेरो जीवनदान पनि सरकारले नै लियोस् ।

पछिल्लो पटक ०७० कात्तिक ७ गतेदेखि वीर अस्पताल आएर अनशन सुरु गरेका थियौं । अहिले न मेरो काख छ न त साथ नै छ । कुनै उपायले न्याय नपाएपछि पुन: शुक्रबारदेखि आमरण अनशन सुरु गरेकी हुँ । अब मलाई न्याय दिलाइदिने भन्दै झुक्याउन कोही नआउनु, मलाई बाँच्नु छैन ।

(हाल ट्रमा सेन्टरमा अनशन बसिरहेकी गंगामायासँग कान्तिपुरकी कल्पना घिमिरेले गरेको कुराकानीमा आधारित )