२९ साउन, काठमाडौं । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ ।

बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

उनका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ ।

आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ ।