७ चैत, काठमाडौं । नेपालीलाई मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा आगामी सोमबार (मार्च २०) का दिन विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाउन लागिएको छ। विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन खोजिएको आयोजक नेपाल डेन्टल एसोसिएसनको भनाइ छ।

एसोसिएसनका अध्यक्ष सन्तोषमान राजभण्डारीले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताए। वीर अस्पतालका दन्त विशेषज्ञ डा प्रकाश बुढाथोकीले रोगको प्रवेशद्वार नै मुख भएकाले रोगको प्रवेश शरीरभित्र हुन नदिन समयसमयमा मुखको परीक्षण गर्नु आवश्यक भएको बताए।

दन्तरोग विशेषज्ञ डा सुवास घिमिरेले मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायतका रोग छैन भनेर मुखको सम्पूर्ण जाँच गर्दा थाहा पाउन सकिने बताउँछन्। वर्ल्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराइडयुक्त दन्तमञ्जनले दिनमा दुईपटक दाँत माझ्नाले गिजा र दाँतलाई बचाउन सकिन्छ। फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको ब्याक्टेरिया हटेर जाने दन्त चिकित्सक बताउँछन् ।