नेपालका महिलाहरु राजनीतिक रुपमा देशको नेतृत्व गर्ने स्थानसम्म पुगेपनि आर्थिक रुपमा अहिले पनि पछाडि नै छन् । परिवर्तित समय अनुसार महिलाहरुले पनि आफूलाई सक्षम र आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् । सामाजिक र सांस्कृतिक संस्कारले खडा गरेको अवरोध चिर्दै महिलाहरुले निकै राम्रो उदाहरण पेश गरेर समाजलाई नै डोहोर्याउने काम समेत गरेका छन् । दुई बर्ष अघि नेपालमा भएको १८ औं सार्क शिखर सम्मेलनको क्रममा सार्क राष्ट्रका मन्त्रीस्तरीय निर्णयबाट दक्षिण एसियाली महिला विकास मञ्चले सार्कबाट मान्यता प्राप्त गरेसँगै नेपाल सहित सार्क राष्ट्रका महिलाहरुको आर्थिक अवस्था उकास्नको लागि मञ्चले आफ्नो सक्रियता बढाएको छ ।

सार्क राष्ट्रका महिलाहरुको उद्यमशिलता विकास र नेतृत्व क्षमता अभिबृद्धि गर्ने उदेश्यले चार बर्ष अघि स्थापना भएको मञ्चमा सार्क राष्ट्रका प्रत्येक देशबाट एक जना उपाध्यक्ष र पाँच जना बोर्ड सदस्य रहेका छन् । नेपाल महिला उद्यमी महासंघको पूर्व अध्यक्ष, सार्क महिला उद्यमी परिषदको पूर्व सभापति, राष्ट्रिय महिला आयोगका पूर्व सदस्य समेत रहेर सार्क राष्ट्रमा महिलाहरुको आर्थिक र नेतृत्व क्षमता विकासको बारेमा १५ बर्ष अनुभव बटुल्नु भएकी दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालसँग नेपाली हेडलाइन्सले गरेको कुराकानीः–

प्रमिला आचार्य रिजाल
अध्यक्ष, दक्षिण एसियाली महिला विकास मञ्च

 

सीप र क्षमताले आत्मनिर्भर बनाउनु पर्छ
महिलाहरुलाई उद्यमशिलता बनाउने र नेतृत्व तहमा महिलाहरुको सहभागीता गराउने कामलाई हामीले प्राथमिता दिएका छौं । सार्क मूलुकका सफल परियोजना नेपालमा पनि ल्याएका छौं । विशेषगरी महिला उद्यमशिलता बढाउनको लागि महिलाहरुसँग सम्बन्धित आर्थिक परियोजना आदान–प्रदान गर्ने गरेका छौं । सार्क राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने महिलाहरुको अवस्थालाई पनि नजिकबाट नियाल्दै आएका छौं ।

राजनीतिक रुपमा महिला अगाडि, आर्थिक क्षेत्रमा पछाडि
हाम्रो देशमा राष्ट्रपति, सभामुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीश महिलाहरुले नै सम्हाल्नु भएको छ । संविधानले ने संसदमा ३३ प्रतिशत महिलाहरुको सुनिश्चितता गरेको छ । राजनीतिक र सामाजिक क्षेत्रमा नेपालका महिलाहरुको अवस्था अन्य देशहरुको तुलनामा निकै राम्रो छ । तर आर्थिक क्षेत्रमा भने नेपाली महिलाहरुको अवस्था कमजोर छ । राजनीतिक रुपमा नेपालले गर्व गर्न सक्ने अवस्था छ । नेपालमा दर्ता भएको उद्योगमा महिलाहरुको सहभागीता दुई प्रतिशत मात्र रहेको तथ्याङकले देखाएको छ । आर्थिक दृष्टिकोणले श्रीलंका र भुटान धेरै अगाडि छन् । नेपालका महिलाहरुले निकै आशा गर्ने ठाउँ छ ।

परिवर्तन रातारात हुँदैन समय लाग्छ
कुनै पनि कुरा रातारात परिवर्तन हुँदैन । समय लाग्छ । हामीले नीति निर्माण तहमा पुग्नको लागि धेरै उपलब्धि हासिल गरेका छौ । सबै कुरा एकै पटक प्राप्त हुदैन । क्रमशः पूरा हुँदै जान्छ । आर्थिक क्षेत्रमा महिलाहरुको उपस्थिति बलियो छैन । यसको लागि निकै महेनत गर्नुपर्छ । नेपालमा राजनीतिक एजेण्डा मात्र हावी भएको छ । आर्थिक एजेण्डाले कहिले पनि प्राथमिकता पाएको देखिदैन । देशमा राजनीतिक स्थायित्व नहुँदा पनि निकै समस्याहरु देखिएका छन् । अब आर्थिक एजेण्डामा नै केन्द्रत गर्नुपर्छ । सबै क्षेत्रमा राजनीतिक मुद्धा ल्याउनु हुँदैन । राजनीतिक मुद्धा आ–आफ्नो ठाउँमा हुन्छ । राजनीतिले मात्र कुनै पनि देशको विकास गर्दैन । राजनीतिले मात्र जनताको जीवनस्तर माथि जान सक्दैन । आर्थिक रुपमा सम्पन्न बनाउनको लागि आर्थिक एजेण्डालाई नै प्राथमिकतामा राख्नु पर्छ ।

आत्मनिर्भर बने महिलाले हेपिनु पर्दैन
महिलाहरुले आफ्नो सीपलाई विकास गर्नुपर्छ । काम सानो ठूलो भन्ने नै हुँदैन । जे जानेको छ त्यसलाई व्यवसायिक रुपमा गर्ने जाँगर देखाउनु पर्छ । आत्मनिर्भर बन्नको लागि जागिर नै खानुपर्छ भन्ने मानसिकता त्याग्नु पर्छ । । पैसा कमाउनको लागि वैदेशिक रोजगारीमै जानुपर्छ भन्ने छैन् । सामान्य कामबाट सुरुवात गर्दा पनि आत्मनिर्भर बन्न सकिन्छ । कृषिको क्षेत्र होस वा घरेलु उद्योग सञ्चालनको क्षेत्र होस । केही न केही गर्ने सोच र योजना बनाएर अगाडि बढ्नु पर्छ । आर्थिक रुपमा आत्मनिर्भर बन्ने सोच बनाएर काम गर्यो भने कसैबाट पनि अपहेलित हुनु पर्दैन । आय आर्जन गर्ने ठाउँमा अधिकाशं स्थानमा पुरुष छ्न । कतिपय महिलाहरुले चेतनाको अभावको कारण पनि धेरै काम गर्न सक्नुभएको छैन् । अब महिलाहरुले पनि आफ्नो चेतनास्तरमा अभिबृद्धि गर्नुपर्छ ।

महिलाहरु अघि बढिसकेका छन्
बदलिदो समय र परिस्थिति अनुसार सामाजिक रुपमा पनि महिलाहरु अघि बढिसकेका छन् । विगतदेखि चल्दै आएको संस्कार र सोचमा परिवर्तन आएको छ । समाजले हेर्ने दृष्टिकोणमा पनि व्यापक सुधार आएको छ । यो खुसीको विषय हो । जहिले गरिबी शब्द आउँछ महिलासँगै जोडिएको हुन्छ । त्यो राम्रो होइन । गरिबी भनेको देशको अर्थतन्त्र हो नि ? महिला मात्र गरिब हुँदैनन । पुरुष पनि गरिब हुन्छन । गरिबी र महिलालाई संससँगै जोडने संस्कारबाट हामी मुक्त हुनुपर्छ । सबैले आ–आफ्नो दायित्व र जिम्मवारी निर्वाह गर्नुपर्छ । खाली आरोप प्रत्यारोप र गाली गलोजले मात्र हुँदैन ।

नेपालमै उद्यमशिल बनौ, विदेश नजाऔं
बाँध्यता र परिस्थितको कारण नेपाली महिलाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । जे उदेश्य लिएर जान्छन । त्यो उदेश्य नै प्राप्त गर्न गाह्रो निकै गाह्रो परेर फर्किएका धेरै उदाहरण छन् । कतिले सीप विकास गरेर आउछन । ती महिलाहरुलाई उद्यमशिल बनाउने सोच र योजना सरकारले बनाउन सकेको अवस्थामा पुनः फर्किर विदेश जादैनन । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नीति निर्माण तहमै सुधार गर्नुपर्ने खाँचो छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको अवस्था दयानिय छ । जस्तो, श्रीलंकाबाट वैदेशिक रोजागरीमा जाने महिलाहरुको अवस्था निकै राम्रो छ । सरकारले नै तालिम दिएर प्रमाणपत्र दिन्छ ।