२० साउन, एजेन्सी ।

छिमेकी देशहरुको नाकाबन्दी सामना गरिरहेको कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको यो पहिलो पटक हो ।

कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको त्यहाँको सरकारी समाचार एजेन्सी क्युएनएले जनाएको छ । स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् ।

मस्यौदाअनुसार कतारी महिलासँग विवाह गर्ने विदेशी नागरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायी रुपमा बसोबासको अनुमति पाउने छन् । यो नयाँ कानूनअनुसार योग्य ठहरिएका प्रवासीलाई कतारको आन्तरिक मामिला मन्त्रीले स्थायी निवासका लागि अनुमति प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । हाल कतारमा झण्डै २७ लाख मानिस भए पनि ३ लाख मात्र कतारी नागरिक छन् ।