२५ माघ, कराँची (पाकिस्तान) । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा आफ्नै सुरक्षा गार्डले अफगानी कूटनीतिज्ञमाथि सोमबार गोली चलाउँदा निजको मृत्यु भएको कराँचीस्थित अफगानी अधिकारीले जनाएका छन् ।

गोली लागी गम्भीर घाइते भएका कराँचीस्थित अफगानी वाणिज्य दूतावासका सचिव मोहम्मद जाकी अब्दुको घटनाको केही समयपछि मृत्यु भएको अफगानी वाणिज्य दूतावासका प्रवक्ता हरिस खानले बताए ।

खानले भने, “हामी काम गरिरहेको समयमा एक्कासी गोली चलेको आवाज सुनियो । हतारमा सबैजना अब्दुको नजिक पुग्दा उहाँ बेहोस बनिसक्नुभएको थियो ।”

गार्ड रहातुल्लाह नामधारी अफगानी नागरिक भएको थाहा भएपछि उनलाई पाकिस्तानी प्रहरीले छानबिनका लागि हिरासतमा लिएको छ । दुवै जना अफगानी अधिकारीले अब्दुमाथि सुरक्षा गार्डले किन गोली चलाए भन्नेबारे केही नखुलेको बताउँदै अनुसन्धानपछि सबै कुरा थाहा हुने प्रतिक्रिया दिए ।

यसैबीच घटना सम्बन्धमा पाकिस्तानस्थित अफगानी राजदुतावासले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बतायो ।

पाकिस्तानमा इस्लामिक लडाकूले आश्रय लिएका सूचनाका आधारमा यहाँस्थित अफगानिस्तानका विदेशी कार्यालयहरुमा कार्यरत कर्मचारीको सुरक्षाका निम्ति निजी सुरक्षा गार्डसमेत उपलब्ध गराइँदै आएको छ ।