१३ असार, काठमाडौं ।

निर्वाचन आयोगले भोली हुने स्थानीय तह दोस्रो चरणको लागि दुःख कष्ट सहेर भएपनि एक दिन राष्ट्रका लागि योगदान गर्न अपिल गरेको छ । चुनावको अघिल्लो दिन आयोगले विशेष पत्रकार सम्मेलन गरेर यस्तो अपिल गरेको हो ।

आयोगले भोलीको चुनावका लागि सबै तयारी पूरा गरेको जनाएको छ । भोली ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको भन्दै आयोगले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्रै मतदान गर्न पाउने स्पष्ट पारेको छ ।
‘निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत सातजना उम्मेदवारलाई प्रदान गर्न आगोगको आग्रह छ ।

‘हामीलाई थाहा छ वर्षायाम सुरु भइसकेको छ, तपाईहरू वर्षदिनसम्म खान पुग्ने बाली लगाउने तयारीमा हुनुहुन्छ तर आयोगले तपाईहरुकै स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिको निर्वाचन गराउन हाम्रा कर्मचारीहरुलाई तपाईको घर आँगनमा पठाइसकेको छ, प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले भने, ‘भोलीको दिनलाई स्थानीय जनप्रतिनिधिहरू निर्वाचित गर्ने महान् पर्वको रूपमा मनाउँदै असार १५ गते रोपाईं पर्व मनाउनसमेत आयोग समस्त मतदाताज्यूहरूमा हार्दिक अपील गर्दछ ।’

मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका परिचयपत्र हराएमा वा नष्ट भएमा आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न पनि आयोगले सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदान अधिकृतलाई आयोग निर्देशन दिएको छ ।

कुल ६२ हजार ४०८ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेकोमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जानकारी गराएको छ । यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित गर्ने छन् ।

यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

दोस्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ४८ संस्थाका ६ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे छ ।