२८ भदौ, सिरहा ।

राष्ट्रिय मानव अधिकार आयोगले खुला मतदान केन्द्र तत्काल हटाई मतदानका लागि सुरक्षित कोठाको व्यवस्था गर्न निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका आयुक्त सुदीप पाठकले आज सिरहाको लहानमा भएको पत्रकार सम्मेलनमा भने, ‘खुल्ला मतदान केन्द्र आयोगलाई स्वीकार छैन ।’

उनले प्रदेश नंं २ को चुनावी गतिविधि अनुगमनको क्रममा सप्तरी जिल्लामा मात्र १३ वटा मतदान केन्द्र रुख मुनी रहेको जानकारी दिए ।

पाठकले भने, निर्वाचन आयोग र नेपाल सरकारले टेन्ट राखेर भए पनि खुल्ला मतदान केन्द्रलाई व्यवस्थित गर्नुपर्छ । निर्वाचनको क्रममा ८ जिल्लाका सुरक्षा प्रमुख र क्षेत्रीय प्रसाशकहरुसंगको छलफल पश्चात सुरक्षा व्यवस्था सुदृढ र चुस्त रहेको आयोगको ठहर रहेको आयुक्त पाठकले बताए ।

अनुगमनको क्रममा निर्वाचन प्रचार प्रसारमा बालवालिकाको अत्यधिक प्रयोग भएको, डिजे साउन्ड, ठुला तुल व्यानर जस्ता भडकिलो र खर्चिलो प्रचार सामाग्री प्रयोग भएको र त्यसले गर्दा निर्वाचन आचार संहितको व्यापक उलंघन भएको आयोगले बताएको छ ।

आयुक्त पाठकले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधि प्रसाद यादवले मतदान गर्ने सप्तरीको राष्ट्रिय प्रा.वि. राजविराजमा अहिले पनि साढे तीन फिट पानी जमेको अवस्था देखिएको र बाढीले भत्काएको बाटो मर्मत नहुँदा मतदाताहरुलाई मतदान केन्द्रसम्म पुग्न निकै कठिनाई झेल्नु पर्ने अवस्था रहेको जानकारी दिए ।