१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण सहितको प्रतिवेदन नबुझाउने राजनीतिक दलसंग स्पष्टीकरण मागेको छ ।

म्याद सकिईसकेपछि मात्रै गत वर्षको आयव्यय विवरण बुझाउने तथा हाल सम्म पनि आयव्ययको विवरण नबुझाउने दलसंग आयोगले स्पष्टीकरण मागेको हो ।

आयोगले आज पत्रपत्रिका मार्फत् सार्वजनिक सूचना निकाली कानून बमोजिम एक सय रुपैंया जरिवाना किन नगर्ने ? भन्दै जरिवाना गर्नु नपर्ने कुनै कारण भए तीन दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

आयोगका अनुसार निर्धारित म्याद पछि मात्रै गत आर्थिक वर्षको आयव्यय विवरण पेश गर्ने राजनीतिक दलमा राष्ट्रिय चुरे भावर पार्टी, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नयाँ शक्ति पार्टी, दलित जनजाति पार्टी लगायत १२ वटा पार्टी रहेका छन् ।

यस्तै गतवर्षको आयव्यय विवरण नबुझाउनेमा राष्ट्रिय जनता दल, चुरे भावर राष्ट्रिय पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी लगायत १८ दल रहेका आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र आफ्नो आयव्ययको विवरणको बार्षिक प्रतिवेदन आयोग समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।