एजेन्सी । युगान्डा र केन्यामा इबोलाभन्दा पनि खतरनाक मानिने मारवर्ग नामको भाईरसको संक्रमण देखिएको छ । जसका कारण तीन जनाको मृत्यु भईसकेको छ ।

मारबर्ग भाईरसले लाग्ने अति नै दुर्लभ रोगका कारण उत्तरी युगान्डाको केविन राज्यमा एकै परिवारका तीन जनाको मृत्यु भएको लाईभसाईन्स डटकमले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातिको हुन र मृत्युदर उच्च छ । मारवर्ग भाइरसकै कारण ८८ प्रतिशत मृत्यु हुनसक्छ । यो रोग गत अक्टोवर १९ मा पत्ता लागेको थियो । चमेरोबाट मान्छेमा सर्ने यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ ।

मान्छेको थुुक, र्याल, पसिना तथा स्पर्शबाट पनि यो रोग सजिलै सर्न सक्ने डब्ल्यूएचओले जनाएको छ । यो रोग लागेको दुई देखि २१ दिन भित्रमा लक्षण देखा पर्छ । जसलाई चिकित्सकीय भाषामा इन्क्युवेशन पिरियड पनि भन्ने गरिन्छ । सामान्यतः यो रोगको लक्षण देखा परेको तीन दिन पछि चक्कर लाग्ने, वान्ता हुने, झाडापखाला हुने लगायतका समस्या देखिन थाल्छ ।