एजेन्सी ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले इवोला विरुद्धको खोपमा सफलता हासिल भएको जानकारी दिएको छ । अफ्रिकी मुलुक गीनीमा डब्लुएचओले गरेको इबोला विरुद्धको एउटा खोपको परीक्षण शत प्रतिशत सुरक्षित भएको प्रमाणित भएको हो । सो सफलताले उक्त प्राणघातक रोगको प्रभावकारी खोपको नजिकै अब विश्व पुगेको छ । विज्ञहरुले उक्त नतिजालाई असाधारण भनेका छन् ।

क्यानडाको पब्लिक हेल्थ एजेन्सीले शुरुमा निकालेको तथा पछि औषधि उत्पादक कम्पनी मर्कले विकास गरेको भीएसभी इबीओभी खोपबाट पछिल्लो सकारात्मक परिणाम देखिएको हो । सो खोपमा इबोला भाइरसको अंशलाई एउटा सुरक्षित भाइरससँग मिलाएर इबोलाको संक्रमणसँग प्रतिरोध गर्न सक्ने बनाइएको थियो ।

ebola

इबोला संक्रमितसँग तत्कालै निकट रहेका हजारौँ मानिसमा गरिएको परीक्षणमा १० दिनपछि कसैलाई पनि संक्रमण नदेखिएको हो । उक्त खोपले अहिले सम्म इजाजत भने पाइसकेको छैन । तर डब्लुएचओले त्यसलाई व्यापक रुपमा वितरण गर्ने तयारी शुरु गरिसकेको छ ।

गीनीमा डिसेम्बर २०१३ मा इतिहासकै सबैभन्दा ठूलो इबोला संक्रमण शुरु भएको थियो । तर अहिलेसम्म यसलाई नियन्त्रण गर्ने कुनै प्रामाणिक औषधी वा खोप पत्ता लागेको थिएन । अब गीनीमा इबोलाका बिरामीका आफन्तलाई तत्कालै खोप लगाइने र उक्त खोप सुरक्षित पाइएकाले बालबालिकामा पनि विस्तार गरिने बताइएको छ । पछिल्लो खोपको प्रभावकारिता ७५ देखि १०० प्रतिशतसम्म पुग्न सक्ने विश्वास गरेका छन् ।।